January 18th, 2018

राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक समान हैसियतमा गाभिने, असन्तुष्टलाई रकम फिर्ता

बैंकिङ खबर । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र एनआईडिसी डेभलपमेन्ट बैंक लिमिटेड १ः१ को सेयर स्वाप रेसियोमा गाभिने भएका छन् । दुबै बैंकको सम्पति तथा दायित्व मूल्याङ्कनबाट समान सेयर स्वाप रेसियो तय भएको हो । मर्जरसम्बन्धी औपचारिक निर्णय लिन एनआईडीसीले माघ १९ गते विशेष साधारणसभा बोलाएको छ ।

असन्तुष्टलाई रकम फिर्ता
सेयर आदनप्रदान अनुपातमा मर्जरमा असन्तुष्ट लगानीकर्तालाई कम्पनी ऐनको दफा १७७ को उपदफा (७) अनुसार एनआईडीसीले सम्पत्ति तथा जायजेथा मूल्याङ्कनअनुसार कायम भएको मूल्य प्रतिकित्ता चार हजार चार सय ८४ रुपैयाँ ३० पैसाका दरले फिर्ता दिने प्रस्ताव समेत अघि सारिएको छ । एनआईडिसी बैंकमा लगानीकर्ता रहेका सर्वसाधारण सेयरधनीले असन्तुष्टि व्यक्त गरेपछि बैंकले विशेष साधारण सभामा रकम फिर्ता गर्ने प्रस्ताव गरेको हो । 

चुक्तापुँजी नौ अर्ब पुग्ने
२०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसिलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । सर्वसाधारण सेयरधनीको एक प्रतिशत सेयर स्वामित्व रहेको एनआईडीसी डेभलपमेन्ट बैंकको चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात बैंकको चुक्क्ता पूँजी नौ अर्ब रुपैयाँ र जगेडा कोष सात अर्ब आठ करोड रुपैयाँ पुग्नेछ ।