साताको आइतबारदेखि नै सुधारको गतिमा रहेको नेपाल स्टक एक्सचेन्जमा सोमबार झन्डै १ अर्ब रुपैँया बराबरको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३२ वटा कम्पनिको १५ लाख ७९ हजार २ सय ९७ कित्ता शेयर ४ हजार ८ सय १ पटक खरिदविक्रि हुँदा कुल ९९ करोड ९२ लाख २१ हजार ३ सय ५१ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा बढी हो । आइतबार ९३ करोडको शेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक पनि १०.२१ अंकले बढेर १४४२.९ अंकमा पुगेको छ ।
नेपाल बंगलादेश बैँकको शेयरमा लगानीकर्ताको ज्यादा आकर्षण देखिएको छ । बैँकको ११ करोड २० लाख ३४ हजार २ रुपैँयाको शेयर कारोबार भएको छ । एनआईसी एसिया बैँकको ७ करोड ४२ लाख ९० हजार ५५ रुपैँयाको कारोबार भएको छ भने ग्लोबल आईएमई बैँकको ४ करोड ४२ लाख ८५ हजार ८ सय ५८ रुपैँयाको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स, सिटिजन बैँक, एभरेष्ट बैँक र नविल बैँकको ३ करोडमाथिको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कम्पनि, नेशनल लाइफ इन्स्योरेन्स कम्पनि लगायतको २ करोडमाथिको शेयर कारोबार भएको छ ।
हामा मर्चेन्ट एण्ड फाइनान्स र एनआईडीसी क्यापिटल मार्केट्सका लगानीकर्ताले १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । त्यस्तै, नमस्ते वित्तीय संस्था, रिलायन्स लोटस फाइनान्स र काक्रे विकास विकास बैँकका लगानीकर्ताले क्रमशः ९.९२, ९.७७ र ९.७६ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । प्रोग्रसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १, रिलायबल डेभलपमेन्ट बैँक, नागवेली लघुवित्त लगायतले पनि कमाएका छन् ।
गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैँकका लगानीकर्ताले सोमबार साढे ५ प्रतिशतका दरले गुमाउँदा साझा विकास विकास बैँकका लगानीकर्ताले झन्डै ५ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोपावर, महाकाली विकास बैँक, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनि लगायतले पनि गुमाएका छन् ।
सोमबार कारोबार भएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै विमा समूह ८२.०६ अंकले बढेको छ भने सबैभन्दा कम जलविद्युत् समूह ०.११ अंकले बढेको छ । त्यस्तै, अन्य समूह ११.७५ अंकले बढ्दा वाणिज्य बैँक र विकास बैँक समूह क्रमशः ८.३४ र ८.१६ अंकले बढेका छन् भने होटल र फाइनान्स समूह क्रमशः ७.९७ र ४.६८ अंकले बढेका छन् ।