May 9th, 2016

२ किलोमिटर क्षेत्रमा ३ दर्जन बैँक तथा वित्तीय संस्था 

bankपश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा पछिल्लो समयमा बैंक र वित्तीय संस्था एकपछि अर्को गरी खुल्ने क्रम बढ्दै गएको छ । हालसम्म ‘क’ वर्गका एक दर्जन गरी करिब ३ दर्जन बढी बैंक र वित्तीय संस्था नेपालगन्जमा खुलिसकेका छन् । 

हाल नेपालगन्जमा माछापुच्छे«, ग्राण्ड, कुमारी, सिद्धार्थ, एनएमबी, एभरेस्ट, एसबीआई, हिमालयन, बैंक अफ काठमान्डु, नेपाल बंगलादेश बैंक, प्रभु, नबिल, इन्भेस्टमेन्ट बैंकले शाखा सञ्चालन गरिसकेका छन् । यसैगरी सिभिल बैंक, ग्लोबल आईएमई बैंक, सेन्चुरी बैंक, रारा बैंक, प्राइम बैंक, जनता बैंक, लक्ष्मी बैंकले पनि शाखा सञ्चालनमा छन् । सोही प्रकारले नेपालगन्जमै केन्द्रीय कार्यालय रहेका बागेश्वरी विकास बैंक, राप्ती–भेरी विकास बैंक, कर्णाली विकास बैंक र भार्गव विकास बैंकले पनि जिल्ला र छिमेकी जिल्लाहरूमा समेत शाखा सञ्चालनमा ल्याएर बैंकिङ कारोबार गर्दै आएका छन् ।

लगानी गर्ने गराउने दुबैमा उत्साह
मध्यपश्चिमको केन्द्रबिन्दु नेपालगन्जमा यसरी बैंक थपिँदा यस क्षेत्रको समग्र आर्थिक गतिविधिमा समेत सकारात्क प्रभाव परेको छ । सुरक्षा व्यवस्था पनि राम्रै भएकाले लगानी गर्ने र गराउने दुवै उत्साहित देखिएका छन् । नेपालगन्जको सुर्खेत रोडको करिब २ किलोमिटरको क्षेत्रमा मात्रै ३ दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका स्थापना भइसकेका छन् । सबैले उद्योगी व्यवसायीलाई आकर्षित गर्न विभिन्न योजना पनि सञ्चालनमा ल्याएका छन् । बैंकका योजनाबाट आकर्षित भएर व्यवसायीले आ–आफ्ना उद्योग व्यवसायमा लगानी बढाउँदै लगेका छन् भने बैंकहरूमा रकम जम्मा गर्ने कार्य पनि बढेको पाइएको छ ।