भीमदत्तनगर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको दशगजा क्षेत्रमा खटिएको ब्यूरोको टोलीले नेपाली एक हजारको नक्कली नोट बनाइरहेको अवस्थामा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाटका २२ वर्षीय बलवीर सिंह र १९ वर्षीय कृष्ण सिंहलाई पक्राउ गरेको क्षेत्रीय अनुसन्धान ब्यूरोका प्रहरी सहायक निरीक्षक केशव जोशीले जानकारी दिए ।
अभियुक्तहरुको साथबाट एक हजारको नोट बनाउन लागि काटेका कागज, विभिन्न केमिकल र मेसिनसमेत ब्यूरोले नियन्त्रणमा लिएको उनले बताए ।
पक्राउ परेका अभियुक्तहरु लामो समयदेखि भारतमै बसेर नोट बनाउन सक्रिय थिए । उनले विभिन्न उपायबाट अभियुक्तलाई नोट छाप्न भन्दै सीमा क्षेत्रसम्म ल्याइपुर्याउँदै नियन्त्रणमा अभियुक्तहरुले भारतकै हिमाञ्चलबाट नक्कली रुपैयाँ बनाउने मेसिल ल्याएको प्रारम्भिक अनुसन्धानबाट देखियो । रासस