May 9th, 2016

हेर्नुस्, कुन कम्पनिको कति हकप्रद शेयर कहिले आउँदैछ ?

economicकाष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडले ४ बराबर १ अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्काशन गर्नको लागि बैंकले एन.सि.एम.मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ८४ करोड ९९ लाख पुग्नेछ । बैंकले २०७२ चैत मसान्तसम्म १९ करोड ३२ लाख खुद नाफा कमाएकोे छ । सो अवधिमा बैंकको सेयर पूँजी ६७ करोड ९९ लाख रहेको छ भने बैंकको जगेडा कोष १८ करोड रहेको छ । उक्त अवधिमा  बैंकले ६ अर्ब ४० करोड ५८ रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४४ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा २.६० प्रतिशतमा झरेको छ । १९ शाखा तथा ७ वटा एटिएम सञ्जाल रहेको यस बैंकले एटिएम सेवाका साथै इ बैंकिङ, एसएमएस बैंकिङ तथा स्वीफ्ट आदि सेवा उपलब्ध गराउंदै आएको छ ।

सिन्धु विकास बैङ्कले १ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ । यस कम्पनिको शेयरलाई इक्रा नेपालले ग्रेड फोर रेटिङ प्रदान गरेको छ । सन् २०१० देखि सञ्चालनमा रहेको सिन्धु विकासको हकप्रद जारी पछि चुक्तापूँजी २४ लाख करोड रुपैयाँ पुग्नेछ । भूकम्प र लामो अवधिको नाकाबन्दीपछि पनि संस्थाको खराब कर्जा बढेको (समग्र क्षेत्रको २.२८ हुँदा कम्पनीको १.३५) छैन । तर, यो नियामकले दिएको सहुलियतले पनि हुन सक्ने देखिन्छ । बैङ्कको परिपक्व प्रमाणित हुन बाँकी कर्जा लगानी ११ प्रतिशतबाट बढेर १९ प्रतिशत पुगेको छ । कम्पनीको कम लागतको निक्षेप धेरै छ भने पूँजी कोष लागत पनि समग्र क्षेत्रको भन्दा कम छ । बैङ्कको मुनाफा दर, प्रतिशेयर नेटवर्थ र सम्पत्तिमा प्रतिफल मध्यम रहेको छ । संस्थाको खुद ब्याज मार्जिनको अवस्था सन्तोषजनक छ ।

त्यस्तै, युनाइटेड फाइनान्सले ४ बराबर १ को अनुपातमा अकप्रद निष्काशन गर्ने भएको छ । सन् १९९६ देखि सञ्चालनमा रहेको युनाइटेड फाइनान्स कम्पनीको हकप्रद जारी गरेपछि चुक्तापूँजी ५८ करोड रुपैयाँ पुग्ने भएको छ । कम्पनीको कम लागतको निक्षेप थोरै रहनु (समग्र क्षेत्र ४८ प्रतिशत रहेकोमा कम्पनीको २१ प्रतिशत), प्रमुख २० निक्षेपकर्ताको हिस्सा ३१ प्रतिशत हुनु, आम्दानीको विविधीकरण नहुनु, प्रडक्टमा केन्द्रीकृत हुनुलाई नकारात्मक पक्षको रूपमा इक्राले उल्लेख गरेको छ । कम्पनीको खराब कर्जाको दर केही बढे पनि (हाल १.२३ प्रतिशत) समग्र क्षेत्रको तुलनामा भने कम रहेको उल्लेख छ । कम्पनीको मुनाफा दर १५ प्रतिशतबाट घटेर १० प्रतिशतमा सीमित भएको छ । कम्पनीको कर्जाको समष्टिगत वार्षिक वृद्धिदर भने मध्यम (४ वर्षदेखि वार्षिक १० प्रतिशत) रहेको उल्लेख छ ।

एनएमबी माइक्रोफाइनान्सले पनि एक बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको विशेष साधारणसभाले १ सय २० प्रतिशत हकप्रद सेयर वितरण गरेर पुँजी १० करोड १२ लाख रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको हो । अहिले कम्पनीको पुँजी ४ करोड ६० लाख रुपैयाँ छ । कम्पनीको २८ वटा शाखा कार्यालयहरु छन् । 

त्यसैगरी, माछापुच्छ्रे बैक लिमिटेडले लगानीकर्तालाई ५० प्रतिशत हकप्रद दिने प्रस्ताव पारित गरेको छ । बैंकको आइतबार पोखरामा सम्पन्न साधारण सभाले १६ प्रतिशत बोनस दिने र बोनस पछि हुने पुँजीको ५० प्रतिशत अर्थात १ सय सेयर बराबर ५० कित्ता हकप्रद दिने प्रस्ताव पारित गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत बोनस दिन लागेको हो । यो बोनस सेयरको कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । बैंकको चुक्ता पुँजी हाल तीन अर्ब ३३ करोड १५ लाख चुक्ता पुँजी रहेको छ । बैकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म ६२ करोड ४२ लाख खुद नाफा कमाएको छ । चैत्र मसान्तसम्म ४८ अर्ब ४३ करोड निक्षेप संकलन गरेको छ भने ४० अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोबार शुरु गरेको यो बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर एक र आफ्नै ७१ वटा एटिएमबाट चार लाख  भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।