Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

इटहरीमा बैंकिङ एक्स्पो सुरु : १६ गतेसम्म संचालन हुने

२०७४ पुष १४ गते

डेपुटी गभर्नर शिवराज श्रेष्ठले चाँडै हरेक स्थानीय तहमा बैंकको शाखा अनिवार्य रुपमा पुग्ने बताएका छन् । मिडिया इन्टरनेसलद्वारा शुक्रबार सुनसरीको इटहरीमा आयोजित बैंक/बीमा एक्स्पोको उद्घाटन गर्दै डेपुटी गभर्नर श्रेष्ठले सात सय ५३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्ने बताएका हुन् । त्यसका लागि केन्द्रीय बैंकले वित्तीय संस्थालाई प्रोत्साहन गरिरहेको उनले बताए । सरकारी कारोबारका लागि पनि हरेक गाउँपालिका र नगरपालिकामा बैंकको शाखा आवश्यक रहेको औँल्याउँदै उनले भने, ‘समृद्धिका लागि पनि यो महत्वपूर्ण हुनेछ ।’

बैंकले उत्पादनशील क्षेत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्नुपर्ने बताउँदै त्यसको कार्यान्वयनका लागि राष्ट्र बैंकले निगरानी समेत बढाएको श्रेष्ठले बताए । उनले हरेक वाणिज्य बैंकले कुल कर्जाको पाँच प्रतिशत विपन्न वर्गको लागि लगानी गर्नुपर्ने बताउँदै सस्तो ब्याजदर हुने यस्तो कर्जाले विपन्न वर्गका व्यक्तिको आर्थिक अवस्था सुधारमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैंकलाई बुझ्न सक्नेले धेरै फाइदा लिन सक्ने बताए । बैंक र पैसाको महत्व तथा उपयोगिताबारे जान्नेले समुन्नत जीवन जिउन विदेशिनु पर्दैन,’ उनले भने, ‘इच्छाशक्ति, जाँगर र भिजन भएकालाई बैंकले बिनाधितो पनि कर्जा दिन्छन् ।’ 

प्रभु ग्रुपकी उपाध्यक्ष समेत रहेकी प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुसुम लामाले आफ्नो सम्पति सुरक्षणका लागि बीमाबारे पनि जानकार हुन आवश्यक रहेको बताइन् । ‘पैसा, कारोबार, बैंकसँगै बीमाबारे पनि जान्नु महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘बीमा गर्दाका फाइदाहरु थुप्रै भएकाले यसको पहुँचभित्र हामीले बस्नुपर्छ ।’

इटहरी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष शैलेस विष्टले बैंकले आफ्नो सेवालाई सरल र सहज बनाउनाको साथै ग्राहकलाई आफ्नो सेवा र सुविधाबारे जानकारी गराउनुपर्नेमा जोड दिए । साथै बैंकले व्यवसायीसँग पनि प्रभावकारी समन्वय गनुपर्नेमा उनको जोड थियो । 
मिडिया इन्टरनेसनलका अध्यक्ष एवं ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ का संयोजक माधव निर्दोषले बैंक तथा वित्तीय संस्थाबिना समृद्धि सम्भव नहुने बताए । उनले बैंकिङ कर्जाबाट उद्यमशील बनेका केही व्यक्तिको उदाहरण दिँदै भने, ‘बैंकलाई चिन्यो भने समृद्धिको बाटो आफैँ तय गर्न सकिन्छ ।’

पूर्वाञ्चलमै पहिलो पटक इटहरीमा सुरु भएको बैंकिङ एक्स्पो आइतबारसम्म चल्ने छ । एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारी मुलक स्टल राखिएको छ । शनिबार लघुवित्त र आइतबार बीमा विशेष कार्यक्रम हुने एक्स्पो कुनै व्यवसायिक प्रयोजनका लागि नभएर वित्तीय साक्षरता कार्यक्रम अन्तर्गतकै भएको संयोजक निर्दोषले बताए । ‘झट्ट सुन्दा बैंंकिङ एक्स्पो कुनै व्यापारिक प्रयोजनका लागि हो कि भन्ने लाग्छ ।’ उनले भने, ‘तर, वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत नै पूर्वाञ्चलका नागरिकमा वित्तीय ज्ञान प्रदान उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो, यसबाट फाइदा उठाउन म पूर्वाञ्चलवासीलाई आह्वान गर्न चाहान्छु ।’ 

इटहरीस्थित जनता माविमा कार्यक्रम उद्घाटन हुनुपूर्व विशाल र्यालीले चोक परिक्रम गरेको थियो । कार्यक्रममा पूर्वाञ्चलका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नेपाल राष्ट्र बैंक विराटनगरका व्यवस्थापक, विद्यार्थी, समाजिक कार्यकर्ता, उद्यमशीलतामा लागेका व्यक्ति लगायतको उपस्थिति रहेको थियो । बैंकिङ स्टल भने करिब दुई हजारले अवलोकन गरेका मिडिया इन्टरनेशनलले जनाएको छ । 

यसअघि सो संस्थाले सुदुरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौँमा पहिलो पटक बैंकिङ एक्स्पोको संचालन गरेको थियो ।  

Ad