पूर्वाञ्चलमै पहिलो पटक सुनसरीको इटहरीमा शुक्रबारदेखि बैंकिङ एक्स्पो सुरु हुँदैछ । देशभर वित्तीय साक्षरता अभियान चलाइरहेको मिडिया इन्टरनेसनलले एक्स्पोको आयोजना गर्न लागेको हो । इटहरीमा पत्रकार सम्मेलन गरी मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । पुस १६ गतेसम्म चल्ने एक्स्पोको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गर्नेछन् ।
इटहरिको सानो जनता माविमा तीन दिनसम्म चल्ने एक्स्पोमा बैंक तथा वित्तीय संस्थाका ३७ वटा जानकारीमुलक स्टल रहने निर्दोषले जानकारी दिए । एक्स्पो कुनै व्यवसायिक प्रयोजनका लागि नभएर वित्तीय साक्षरता कार्यक्रमअन्तर्गतकै भएको उनले बताए । ‘झट्ट सुन्दा बैंंकिङ एक्स्पो कुनै व्यापारिक प्रयोजनका लागि हो कि भन्ने लाग्छ ।’ उनले भने, ‘तर, वित्तीय साक्षरता राष्ट्रिय अभियानअन्तर्गत नै पूर्वाञ्चलका नागरिकमा वित्तीय ज्ञान प्रदान उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो ।’ उनका अनुसार म्यानेजमेन्ट, कृषि र पर्यटनजस्ता विषय लिएर अध्ययनरत विद्यार्थीलाई कार्यक्रममा सहभागि गराएर नेपालमै उद्यमी बनाउने पनि कार्यक्रमको उद्देश्य हो । त्यसका लागि वित्तीय साक्षरता तथा वित्तीय जागरण ल्याउनेगरी कार्यक्रम संचालन गरिनुका साथै बैंक खाता नभएकालाई बैंक खाता खोल्न सहजिकरण गर्ने, बैंकिङ प्रविधिसम्बन्धी जानकारी नभएकालाई ‘ई बैंकिङ,’ विविध बैंकिङ कार्ड तथा ‘मोवाइल बैंकिङ’सम्बन्धी सहज ढंगले जानकारी गराइने उनले बताए ।
यसअघि सो संस्थाले सुदुरपश्चिम र पश्चिमाञ्चलमा ‘वित्तीय साक्षरता ः राष्ट्रिय अभियान’ संचालन गरेको थियो भने काठमाडौँमा पहिलो पटक बैंकिङ एक्स्पोको संचाल गरेको थियो । पत्रकार सम्मेलनमा विकास बैंकर्स संघका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पोको बैंकिङ पार्टनर गरिमा विकास बैंक प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले नेपालमा वित्तीय साक्षरता अभियान प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले मिडिया इन्टरनेसनलले गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा संचालन हुने कार्यक्रममा पनि गरिमा विकास बैंकको साथ रहने उद्घोष गरे । ‘बैंक पैसा झिक्ने र राख्ने ठाउँमात्रै नभएर सिर्जनशील तथा उद्यमशील काम गर्नका लागि उपयुक्त संस्था हो,’ उनले भने, ‘यो कुरा आम मानिस सबैले बुझ्नुपर्छ, यसका लागि वित्तीय ज्ञान बाँड्नुपर्छ ।’
सो अवसरमा गरिमा विकास बैंकले प्रदेश नम्बर एकमा १० वटा कार्यालय स्थापना गर्ने सीईओ ढकालले जानकारी पनि दिए । ‘बढीभन्दा बढी बैंकका शाखाहरु विस्तार हुँदा पनि वित्तीय साक्षरता कार्यक्रम प्रभावकारी बनाउन मद्दत पुग्छ ।’ उनले प्रस्ट्याए ।
पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ सुनसरीका कार्यवाहक अध्यक्ष शैलेस विष्टले पूर्वाञ्चलमा पहिलो पटक बैंकिङ एक्स्पो हुन लागेकाले
त्यसमा उत्साहपूर्वक सहभागी हुन तथा अवलोकन गर्न सबैलाई आह्वान गरे । ‘हामीले माग गर्नुपर्ने कार्यक्रम सम्बन्धित क्षेत्रमा क्रियाशील अभियान्ताहरुले नै ल्याउनु भएको छ,’ विष्टले भने, ‘यसमा हामी सबैको साथ रहने छ र म सबैलाई कार्यक्रम अवलोकनका लागि आह्वान पनि गर्न चाहान्छु ।’
आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष निर्दोषले वित्तीय साक्षरता ः राष्ट्रिय अभियानलाई पूर्वाञ्चलका दुर्गम क्षेत्रमा पनि संचालन गर्ने बताए ।
नेपाल राष्ट्र बैंकको मौद्रीक नीतिको कार्ययोजनालाई सहयोगी हुनेगरी ‘सामाजिक सुरक्षा भत्ता बैंक खाता मार्फत, सबै नेपालीको बैंक खाता’ भन्ने मुल नाराका साथ सुरु भएको ‘वित्तीय जागरण : राष्ट्रिय अभियान’ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालबाट समुद्घाटन गरी सुरु भएको राष्टिय स्तरको वित्तीय चेतनाको कार्यक्रम हो । आम नेपालीलाई बैंकिङ सूचना प्रवाह गर्ने उद्देश्य स्वरुप नेपाल राष्ट्र बैंकको प्रबद्र्धन तथा मिडिया इन्टरनेसनलको आयोजनामा देशैभरी कार्यक्रम संचालन गर्नेगरी यो अभियान सुरु भएको हो । जसअनुसार (गत बैशाख १५, १६, १७ गते काठमाडौंको भृकुटि मण्डपमा) पहिलो पटक बैंकिङ सुचना मेला ‘बैंकिङ एक्स्पो’ को थालनी भएको जानकारी गराउँदछौं । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन र माइक्रोफाइनान्स बैंकर्स एशोसिएसनको समेत सहकार्यमा अघि बढेको यो कार्यक्रममा नेपाल धितोपत्र बोर्ड र राष्ट्रिय बीमा समितीले समेत साझेदारीका रुपमा सहकार्य गरेका छन् । सोही कार्यक्रम अनुसार पुस १४, १५ र १६ गते इटहरीमा काठमाडौं बाहिर पहिलोपटक ‘बैंकिङ एक्स्पो’ संचालन गर्न लागिएको हो ।
नेपालमा वित्तीय साक्षरताको अवस्था के छ ?
विश्वका विभिन्न मुलुकहरुमा वित्तीय साक्षर मानिसको संख्या १३ देखि ७१ प्रतिशतसम्म रहेको छ । नेपालमा भने वित्तीय साक्षरताको अवस्था ज्यादै न्युन भएको विश्व बैंकको तथ्यांकले देखाउँछ । विश्व बैंकका अनुसार १८ प्रतिशत नेपाली मात्रै वित्तीय रुपमा साक्षर छन् । छिमेकी मुलुक भारतमा २४ प्रतिशत मानिस वित्तीय रुपमा साक्षर रहेका छन् भने विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका ५७ प्रतिशत मानिसहशर वित्तीय रुपमा साक्षर छन् । यमनमा वित्तीय साक्षरताको अवस्था सबैभन्दा कमजोर रहेको छ । त्यहाँका १३ प्रतिशत जनता वित्तीय रुपमा साक्षर रहेको पाइन्छ । त्यस्तै, स्वीडेन र डेनमार्कमा वित्तीय साक्षरता सबैभन्दा धेरै अर्थात ७१ प्रतिशत रहेको छ ।