December 28th, 2017

तरलता अवस्था सहज बनाउन बैंकहरुसँग विकास ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता बैंकिङ बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको विकास ऋणपत्र खरिद गर्नका लागि सोझै खरिद बोलकबोलको सूचना जारी गरेको छ । तत्काल देखिएको तरलता अभावको समस्याको समाधानका लागि राष्ट्र बैंकले विकास ऋणपत्र खरिद गरी बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो । 

बैंकहरुले आगामी आइतबार अर्थात पुस १६ गते आफूसँग भएको विकास ऋणपत्र राष्ट्र बैंकलाई विक्री गरी रकम लिन सक्नेछन् । ऋणपत्रको व्याजदर बोलकबोलको आधारमा तय गरिने राष्ट्र बैंकले जनाएको छ । 

बैंकहरुले तरलता अभाव भएको भन्दै महँगो व्याजदरमा निक्षेप लिन थालेका छन् भने आफूसँग भएको निक्षेपलाई कायम राख्न मुद्धति निक्षेपको व्याजदर समेत धमाधम बढाइरहेका छन् ।