बैंकिङ खबर । पूर्वको राजधानी भनेर चिनिने कोशी अञ्चलको मोरङ जिल्ला पनि बैंकिङ पहुँचमा कमजोर रहेको छ । यहाँका झन्डै ५९ प्रतिशत स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ । कुल १७ वटा स्थानीय तह रहेको जिल्लाका सात स्थानीय तह अझै पनि बैंकविहीन रहेका छन् । बैंकिङ पहुँच पुगेका १० स्थानीय तहमध्ये, दुई वटा गाउँपालिका रहेका छन् भने सात वटा नगरपालिका र एउटा महानगरपालिका रहेका छन् ।
नगरपालिका नै बैंकविहीन
एउटा महानगरपालिकासहित नौ वटा नगरपालिका रहेको मोरङको एउटा नगरपालिकामा अझै बैंक पुग्न सकेको छैन । जिल्लाको बिराटनगर महानगरपालिका, बेलवारी नगरपालिका, लेटाङ नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, रंगेली नगरपालिका, रतुवामाई नगरपालिका, उर्लावारी नगरपालिका र सुन्दरहरैंचा नगरपालिकामा बैंकहरुले शाखा विस्तार गरिसकेका छन् । सुनवर्षि नगरपालिकामा भने अझैसम्म कुनै पनि बैंकले शाखा विस्तार गरेका छैनन् ।
दुई वटा मात्रै गाउँपालिकामा बैंक
हालसम्म मोरङका दुई वटा गाउँपालिकामा बैंकहरुले शाखा संचालनमा ल्याइसकेका छन् । जिल्लाका कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिकामा बैंकहरु पुगेका छन् । मोधा बुढीगंगा गाउँपालिका, धनपालथान गाउँपालिका, ग्रामथान गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा भने हालसम्म कुनै पनि बैंकको शाखा खुलेका छैनन् ।
तीन स्थानीय तहमा बैंक पुग्दै
जिल्लाका तीन वटा गाउँपालिकामा जनता बैंक, राष्ट्रिय वाणिज्य बैंक र सेञ्चुरी कमर्सियल बैंकले शाखा खोल्ने योजना बनाएका छन् । धनपालथान गाउँपालिकामा जनता बैंकले छिटै नै आफ्नो शाखा स्थापना गरी संचालनमा ल्याउँदैछ । कटहरी गाउँपालिकामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले शाखा खोल्ने भएको छ । त्यस्तै, ग्रामथान गाउँपालिकामा सेञ्चुरी बैंक पुग्ने भएको छ ।