बैंकिङ खबर – नेपाल राष्ट्र बैंकले बैंकहरुलाई विदेशी अवार्ड लिन कडाई गर्ने भएको छ । राष्ट्र बैंक मंगलबार साँझ निर्देशन जारी गर्दै बैंक अफ दि इयरजस्ता विदेशी अवार्ड लिन बैंकहरुलाई कडाइ गर्ने जनाएको छ ।
पुरस्कार लिन जाँदा उल्लेख्य खर्च हुन थालेपछि राष्ट्र बैंकले अवार्डमा कडाइ गर्ने भएको हो । अवार्डका नाममा निक्षेपकर्ताको पैसा प्रयोग गरेर उडाउने काम भएको विश्लेषण गर्दै राष्ट्र बैंकले नीतिगत रुपमा नै व्यवस्था गरेर सो अनियमितता रोक्न लागेको छ । बैंकहरुले विदेशी अवार्ड लिनुअघि अवार्ड दिने संस्थाको वैधानिक हैसियतका साथै उसको आधिकारिकता पुष्टी हुने कागजातसमेत राष्ट्र बैंकलाई बुझाउनु पर्छ।
विदेश भ्रमण खर्चमा पनि कडाई
अवार्ड लिन जाने नाममा बैंकको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत वा माथिल्लो ब्यवस्थापनले गर्ने खर्चमा पनि राष्ट्र बैंकले कडाइ गर्ने भएको छ। अवार्ड लिनका लागि विदेश जाने बिषयलाई व्यवस्थित गर्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै छाडिएको छ। यसका लागि बैंकहरुले आगामी चैत मसान्तसम्ममा विदेश भ्रमण बारे कार्यविधि नै बनाउनु पर्ने छ। बैंकहरुले बनाउने कार्यविधिमा भ्रमणको उद्देश्य, त्यसबाट हुने फाइदाका बारेमा खुलाएर संचालक समितिवाट निर्णय गराउनु पर्छ। अनि मात्र विदेश भ्रमणका लागि जान पाइने छ।
बैंक संचालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानु पर्दा भ्रमण गरिने मुलुक, भ्रमणमा जाने पदाधिकारीको नाम, भ्रमण अवधि, भ्रमणको विषय, भ्रमण गर्दा लाग्ने खर्च बारे स्पष्ट खुलाउनु पर्छ। भ्रमण गर्दा संस्थालाई के कति फाइदा पुग्छ त्यो बारे पनि खुलाउनु पर्ने हुन्छ।
राष्ट्र बैंकको नियमन समितिले यसबारे निर्णय गरिसकेको छ भने सञ्चालक समितिले पारित गरेपछि निर्देशन कार्यान्वयनमा आउने छ।