बैंकिङ खबर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले दुई वटा नयाँ योजना ल्याउने भएको छ । एक स्थानीय तह, दुई नमुना व्यवसायी र द्रुत कर्जा गरी दुई नयाँ योजना ल्याउन लागेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले बताए । नयाँ व्यवस्थासहितको विनियमावली कोष संचालक समितिबाट पास भई मन्त्री परिषद्मा पठाइएको र मन्त्री परिषद्को स्वीकृती प्राप्त हुनेवित्तीकै कार्यक्रमहरु लागू गरिने उनले बताए ।
स्थानीय साधन र स्रोतको अधिकतम उपयोग हुने, मूल्य अभिबृद्धिको मात्रा बढी भएका, मूल्य श्रृंखला भएका, निर्यात योग्य बस्तुको उत्पादन गर्ने एक गाउँ एक उत्पादन जस्ता उत्पादनमूलक एवम् सेवामूखी व्यवसाय गर्न इच्छुक व्यक्ति तथा समूहलाई सुलभ कर्जा दिने उद्देश्यले एक स्थानीय तह, दुई नमुना व्यवसाय कर्जा कार्यक्रम सुरु गर्न लागिएको डा. गौतमको भनाइ छ । उनका अनुसार, यस्तो कर्जा मार्फत व्यवसाय संचालन गर्न इच्छुक व्यक्तिले आफू बसोबास गरेको स्थानमा कोषले तोकेको वैंक, वित्तीय संस्था वा सहकारीमा आफ्नो व्यवसायिक प्रस्ताव पेश गर्नुपर्नेछ । पेश भएका प्रस्तावहरुमध्ये प्रत्येक तहबाट उपर्युक्त एउटा मात्र प्रस्ताव छनौट हुनेछ । प्रस्ताव छनौट भएको यस्तो संस्थाले बढिमा १ करोडसम्म थोक कर्जा प्राप्त गर्न सक्नेछ । यो कर्जा प्राप्त गर्न अनिवार्य रुपमा धितो राख्नु पर्नेछ । स्वरोजगार कर्जामा उपलब्ध हुने सबै सुविधा र अनुदान यो कर्जामा पनि लागू हुने बताइएको छ ।
त्यस्तै, युवा तथा साना व्यवसायी स्वरोजगार कोषले उद्यमी बन्न चाहने युवाहरुका लागि सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यका साथ कोषले द्रुत कर्जा लागू गर्न लागेको डा. गौतमले बताए । यसअघि, कर्जा माग गरेको एक दुई वर्षमा बल्ल कर्जा उपलब्ध हुने समस्या देखिएको स्वीकार्दै उनले कर्जा प्राप्त गर्न छिटो र सहज होस् भनेर द्रुत कर्जा योजना ल्याएको बताए । द्रुत कर्जा सेवा बजेट आए लगत्तै सुरु हुने र स्वरोजगार कर्जामा उपलब्ध हुने सबै सुविधा र अनुदान यो कर्जामा पनि प्रदान गरिने बताइएको छ ।
चालू आर्थिक वर्षमा कोषले ३० हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।