रमेश कुमार पोखरेल । औद्योगिक विकास, पुँजीको स्तन्त्र प्रवाह र नयाँ प्रविधिको आविष्कार, प्रयोग तथा विस्तारले संसारलाई नै एउटा गाउँ बनाएको छ । संसारको कुनै एउटा कुनामा उत्पादन भएको वस्तु तथा सेवा अर्को कुनामा बस्ने व्यक्ति, समुदाय वा देशले उपभोग गर्ने अवस्थाको श्रृजना भएको छ । यसलाई सहज बनाउने काम अन्तरराष्ट्रिय व्यापारले गरेको छ । अन्तरराष्ट्रिय व्यापारको प्रक्रिया त्यति सहज भने छैन । यो धेरै घुमाउरो र जटिल छ । हरेक देशका आ आफ्नै कानुन, नियम, परम्परा, राजनैतिक व्यवस्था, आर्थिक हैसियत, भाषा, संस्कृति र ती तत्वहरुद्धारा निर्देशित क्रियाकलापहरु हुने भएकोले अन्तरराष्ट्रिय व्यापार जटिल बन्न गएको हो ।
व्यापार प्रक्रियामा वस्तूहरुको ओसार पसार भौतिक रुपमा हुन्छ भने मुद्राको रुपमा सो को भुक्तानी उल्टो दिशामा हुने गर्दछ । बस्तुझैं मुद्राको ओसारपसार भौतिक रुपमा गर्न सम्भव हुँदैन । वस्तु तथा सेवाको अन्तरदेशीय प्रवाह र भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न मध्यस्थकर्ताको साथै सर्व स्वीकार्य विश्वव्यापी मान्यताको आवश्यकता पर्दछ । अन्तरराष्ट्रिय व्यापारबाट श्रृजित भुक्तानीका लागि विभिन्न विधिहरुको प्रचलन रहेको पाइन्छ ।
अन्तरराष्ट्रिय व्यापारमा भुक्तानीका विधिहरु
१. अग्रिम भूक्तानी (Advance Payment): यस विधि अन्तरगत आयातकर्ता र निर्यातकर्ता बीच खरीद बिक्रीको सम्झौता भएपछि आयातकर्ताले निर्यातकर्ताको बैंकमा अग्रिम भुक्तानी पठाउँछ । बैंकमा यस्तो रकम जम्मा भए पछि मात्र निर्यातकर्ताले आयातकर्तालाई सामान पठाउँछ । निर्यातकर्ता मैत्री यस विधिको प्रयोग गर्दा आयातकतालाई लागत र जोखिम दुवै बढी हुन्छ । त्यसैले कतिपय देशमा यो विधिको प्रयोग गर्न अनुमति दिइंदैन ।
२. Open Account : यो विधि अग्रिम भुक्तानी प्रणालीको ठीक उल्टो छ । यस अन्तर्गत रकम भुक्तानी नगरिकनै सामान आयातकर्तालाई सिधै पठाइन्छ । आयातकर्ताले सामान प्राप्त भएपछि मात्र रकम भुक्तानी गर्दछ । यो तरिका आयातकर्ता मैत्री भएकोले निर्यातकर्ताहरु जोखिममा पर्ने संभावना बढी हुन्छ । त्यसैले यो विधि पनि उपयुक्त मानिदैन ।
३. Consignment Sale : यस विधिमा निर्यातकर्ताले विभिन्न ठाउँमा नियुक्त आफ्ना बिक्री प्रतिनिधिहरु मार्फत माग संकलन गर्दछ र सामान आफ्ना प्रतिनिधिहरुलाई पठाउँछ । प्रतिनिधिहरुले रकम भुक्तानी नगरिकनै सामान प्राप्त गर्दछन् । उनीहरुले सामान बिक्री गरी रकम प्राप्त गर्दछन् र निर्यातकर्तालाई पठाउँछन् । Open Account भन्दा केही जोखिम कम हुने भए पनि लागत र जोखिम दुबै दृष्टिले नियार्तकर्ताले यो विधि समेत त्यति रुचाउँदैनन् ।
४. Bill for collection: Advance Payment र Open Account दुवैमा भएका कमजोरीहरुलाई हटाउँदै यो विधि प्रचलनमा आएको हो । यस अन्तर्गत निर्यातकर्ताले आयातकर्तालाई सामान पठाउँछ र भुक्तानीका लागि कागजातहरु आयातकर्ताको बैंकमा पठाउँदछ । आयातकर्ताले सामान प्रति संतुष्ट भएर भुक्तानी गरेपछि मात्र बैंकले कागजातहरु आयातकर्तालाई हस्तान्तरण गर्दछ र रकम निर्यातकर्तालाई पठाउँदछ । वस्तुको स्वामित्व तथा नियन्त्रण निर्यातकर्तामै रहने भए पनि आयातकर्तावाट भुक्तानी नभै सामान फिर्ता लग्नु पर्ने जोखिम भने रहिरहन्छ ।
५. प्रतित पत्र (Letter of Credit): वस्तु तथा सेवाको प्रवाह र सो को भुक्तानीको विधिमा भएका कठिनाईहरुलाई सहज बनाउँदै व्यापार प्रक्रियामा सहभागी विभिन्न पक्षहरुलाई हुन सक्ने जोखिमहरु न्युन गर्नुपर्ने आवश्यकता महशुस गरी सवैले जित्ने प्रावधानको खोजी हुन थाल्यो । यसमा बैंक तथा वित्तीय संस्थाहरुले मध्यस्थकर्ताको भूमिका खेल्दछन् । प्रतितपत्रको बारेमा विस्तृत रुपमा तल उल्लेख गरिएको छ ।