December 22nd, 2017

सिराहाका ७५ प्रतिशत स्थानीय तह बैंकबिहिन

रुपा कोइराला/बैंकिङ खबर । सिराहा जिल्लाका ७५ प्रतिशत स्थानीय तहमा बैंंक शाखा पुग्न सकेका छैनन् । जिल्लामा कुल १६ स्थानीय तह रहेका छन् । जसमध्ये, सात वटा नगरपालिका र नौ वटा गाउँपालिका रहेका छन् । यहाँका गाउँपालिका मात्र नभएर नगरपालिका समेत बैंकविहीन रहेका छन् । यहाँका जम्मा ४ स्थानीय तहमा बैंक पुगेका छन् भने १२ स्थानीय तह बैंकविहीन रहेका छन् ।

चार नगरपालिकामा मात्रै बैंक
१० स्थानीय तहमध्ये, सिराहाका चार स्थानीय तहमा मात्रै बैंक पुगेका छन् । बैंक पुगेका सबै स्थानीय तह नगरपालिका हुन् । जिल्लाको गोलबजार नगरपालिका, मिर्चैया नगरपालिका, लहान नगरपालिका र सिराहा नगरपालिकामा बैंकको शाखा संचालनमा छन् । नगरपालिका भएर पनि धनगढीमाई नगरपालिका, कर्जन्हा नगरपालिका र कल्याणपुर नगरपालिका अझैसम्म बैंकविहीन छन् ।

सबै गाउँपालिका बैंकविहीन
सिराहाका गाउँपालिकाहरु सबै बैंकविहीन छन् । जिल्लाका अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपुर गाउँपालिका, वरियारपट्टी गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, विष्णुपुर गाउँपालिका, सुखुवाना गाउँपालिका र कर्जन्हा गाउँपालिकामा अहिलेसम्म कुनै पनि बैंकले आफ्नो शाखा विस्तार गरेका छैनन् । 

छ स्थानीय तहमा छिटै बैंकिङ पहुँच पुग्दै
हालसम्म बैंकिङ पहुँच नपुगेका एक दर्जन स्थानीय तहमध्ये, आधा दर्जनमा छिटै नै वाणिज्य बैंकहरुले शाखा विस्तार गर्ने भएका छन् । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारको योजनाअनुरुप, पाँच वटा बैंकले सिराहाका छ स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्ने निर्णय गरेका छन् । जसअनुसार, भगवानपूर गाउँपालिका र वरियारपट्टी गाउँपालिकामा प्रभु बैंकले शाखा खोल्दैछ । त्यस्तै, गोलबजार नगरपालिकामा जनता बैंक पुग्ने भएको छ । विष्णुपुर गाउँपालिकामा मेगा बैंक र धनगढीमाई नगरपालिकामा एसीसी बैंकले शाखा विस्तार गर्दैछन् । माछापूछ्रे बैंकको शाखा कर्जन्हा गाउँपालिकामा संचालन हुने भएको छ । बाँकी अर्नमा गाउँपालिका, औरही गाउँपालिका, नवराजपूर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका र सुखुवाना गाउँपालिका थरी पाँच स्थानीय तहमा अझै पनि बैंक पुग्ने टुंगो छैन । यी स्थानीय तहहरुमा विजुली, सडक, सुरक्षा जस्ता आधारभूत पूर्वाधारको पनि व्यवस्था नभएका तत्काल ती स्थानहरुमा बैंकहरु जान नमानेका हुन् ।