एनआइसी एशिया बैंकले ४ः१अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । बैंकले ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको ९२ लाख ३७ हजार पाँच सय ४० कित्ता हकप्रद जारी गर्न लागेको हो । लगानीकर्ताले आगामी जेठ १३ गते देखि असार १५ गतेसम्म आवेदन दिन पाउने जनाइएको छ । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । यो हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र एनआएसी एशिया बैंकका सबै शाखाबाट हकप्रद सेयर भर्न पाउँनेछन् ।
चुक्ता पुूँजी वृद्धि गर्नका लागि बैँकले यो हकप्रद जारी गर्न लागेको जनाएको छ । हकप्रदपछि बैंकको चुक्ता पुँजी चार अर्ब ६१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षसम्मको नाफाबाट वितरण गरिएको बोनस समेत जोड्दा बैंकको चुक्ता पुँजी यही आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब ४६ करोड ८६ लाख रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८३ करोड रुपैयाँ खुद नाफा कमाउने अनुमान गरिएको छ ।
एनआइसी एशियामा सर्वसाधारण सेयर धनीको लगानी ४९ प्रतिशत र सस्थापक समूहको लगानी ५१ प्रतिशत छ ।