बैंकिङ खबर । प्रदेश नम्बर १ मा बैंकिङ पहुँचका हिसाबले झापा सबैभन्दा उत्कृष्ट जिल्ला रहेको छ । यहाँका झन्डै ९५ प्रतिशत स्थानीय तहमा बैंक पुगेका छन् । १५ वटा स्थानीय तह रहेको झापाका १४ स्थानीय तहमा बैंक शाखा पुगिसकेका छन् ।
झपाको कचनकवल गाउँपालिकामा हालसम्म कुनै पनि बैंकले शाखा खोलेका छैनन् । जिल्लाका गौरीगञ्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कमल नगरपालिका, बुद्धशान्ति नगरपालिका, झापा नगरपालिका, मेचीनगर नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा भने बैंकहरुले शाखा विस्तार गरिसकेका छन् ।
स्थानीय तहका हिसाबले सबैजसोमा बैंक शाखा पुगेको देखिए तापनि बैंकहरुले सहरमुखीपन भने गएको छैन । झापाका यी स्थानीय तहका पनि केन्द्र अर्थात सहरी भेगमा मात्रै शाखा खोलिएका छन् । गाउँमा सुरक्षा, पूर्वाधार लगायतको अभावका कारण शाखा नै संचालन गर्न नसकिने बैंकहरु बताउँछन् । शाखा संचालनका लागि न्युनतम पूर्वाधारहरु सरकारले खडा गरिदिए शाखा संचालन गर्न कुनै आपत्ति नरहेको बैंकहरु बताउँछन् ।