December 17th, 2017

चार महिनामा नेपाललाई तीन खर्बबढी व्यापार घाटा

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालले तीन खर्ब १० अर्ब १८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, कुल तीन खर्ब ६२ अर्ब ९३ करोड ८० लाख रुपैयाँको वैदेशिक कारोबारमा तीन खर्ब ३६ अर्ब ५६ करोडको आयात हुँदा २६ अर्ब ३७ करोड ७६ लाखको मात्रै निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा आयात ११.५२ प्रतिशत र निर्यात ७.७ प्रतिशतले बढेको हो । 

कुल वैदेशिक व्यापारमध्ये भारतसँग ६३ दशमलव ९७ प्रतिशत व्यापार भएको छ । कुल निर्यातको ५३.४ प्रतिशत अर्थात १४ अर्ब ८ करोड ५२ लाख रुपैयाँको निर्यात भारतमा भएको छ । यो अवधिमा भारतसँगको व्यापारघाटा दुई खर्ब चार अर्ब एक करोड १७ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, चीनमा नेपालबाट ६९ करोड ४० लाख ७९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापारघाटा ४२ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।