May 8th, 2016

जहाँ भित्रिन्छ एक दिनमै एक करोड रेमिट्यान्स

remitanceरुकुममा दैनिक एक करोड रुपैँयाभन्दा बढी विप्रेषण (रेमिटान्स)भित्रिने गरेको छ । मलेशिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको संख्या उल्लेख्य रहेकाले यहाँ दैनिक विप्रेषण बढ्दै गएको हो । जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक एक करोड रुपैँयाभन्दा बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक २५ देखि ३० लाख रुपैँया बराबरको विप्रेषण जिल्लामा भित्रने गरेको छ ।

हाम्रो बचत तथा सहकारी संस्थाका प्रबन्धक प्रेम खड्काका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक २० लाख रुपैँयासम्मको विप्रेषण भित्रने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभु मनी ट्रान्सफर रुकुम र सिटी एक्सप्रेस रुकुमले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।

विदेशिएका आफन्त पनि आफ्नै जिल्लाबाट छिटो छरितो रुपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरुप्रति आकर्षित भएको आइएमई रुकुमकी दीपा ओलीले बताइन् । 

वेस्टर्न युनियन मनी ट्रान्सफर रुकुमका शाखा प्रबन्धक अनिल बिएमका अनुसार जिल्ला भित्रनेभन्दा बाहिरिने रेमिट दर कमी रहेको छ । दैनिक एक करोड रुपैँयाभन्दा बढी विप्रेषण जिल्ला भित्रिने भएपछि स्थानीय अर्थतन्त्रमा केही सुधार भएको बताइएको छ । रासस