बैंकिङ खबर । हालै समस्याग्रस्त वित्तीय संस्थाको सूचिबाट फुकुवा भएको बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई खरिद गर्ने भएको छ । साबिकको जनरल फाइनान्सले समस्याग्रस्तबाट फुकुवा भएपछि नाम परिवर्तन गरी बेस्ट फाइनान्सको नामबाट कारोबार गरिरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउने बाध्यता रहेको बेस्टले सिनर्जीलाई प्राप्ती गर्ने प्रक्रिया अघि बढाएको छ । सिनर्जीलाई प्राप्ती गर्नका लागि बेष्टले नेपाल राष्ट्र बैंकको सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ ।
सेयर आदनप्रादन अनुपात (स्वाप रेसियो) दुबै संस्थाको सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) पछि तय हुने बताइएको छ । दुई कम्पनीबीच प्राप्तिपछि कम्पनीको नाम बेष्ट फाइनान्स रहने र अध्यक्षमा बेष्ट फाइनान्सका अध्यक्ष पदमराज न्यौपानेले नै निरन्तरता पाउने सम्झौता भएको छ । प्रमुख कार्यकारी अधिकृतमा भने सनर्जी फाइनान्सका बिनितमणि उपाध्याय रहने भएका छन् । सिनर्जीलाई अबको पाँच महिनाभित्र प्राप्ती गरिसक्ने बेस्ट फाइनान्सको योजना रहेको छ ।
अध्यक्ष न्यौपानेका अनुसार, सिनर्जी फाइनान्सले कार्तिक १७ गतेको साधारण सभामा ७० प्रतिशत हकप्रद दिने प्रस्तावलाई स्थगित गरि पहिले नै घोषणा भएको २५ प्रतिशतलाई निरन्तरता दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट फुकुवा भएको २ वर्षभित्र तोकेको चुक्तापूँजी पुर्याउनुपर्ने व्यवस्था ल्याएअनुरुप यो फाइनान्सले पुँजीवृद्धिका लागि थप समय पाएको छ । नयाँ व्यवस्थाअनुसार यी दुई संस्थाले आर्थिक वर्ष २०७५।७६ को अन्त्यसम्ममा ८० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । २०७० जेठ ८ गते समस्याग्रस्त घोषणा भएको जनरल फाइनान्स २०७३ पुस ३ गते समस्याग्रस्तबाट फुकुवा भएको थियो ।