Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सर्वसाधारणको सवा दुई अर्ब निक्षेप जोखिममा, नौ वित्तीय संस्थाको ९८.७५ प्रतिशत खराबकर्जा

२०७४ मंसिर २६ गते

बैंकिङ खबर । नौ वटा बैंक तथा वित्तीय संस्थामा दुई अर्ब २१ करोड ५३ लाख रुपैयाँ जोखिममा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालक, अध्यक्ष तथा प्रमुख कार्यकारीको बदमासीले समस्याग्रस्त बनेका नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र ललितपुर फाइनान्समा उक्त रकम रहेको हो । यी संस्थामा सर्वसाधरणको दुई अर्ब २१ करोड ५३ लाख ९७ हजार रुपैयाँ निक्षेप फिर्ता गर्न र पाँच अर्ब ४७ करोड ५४ लाख २४ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ । यो गत असोज मसान्तसम्मको तथ्यांक हो । 

उठाउन बाँकी कर्जा
समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडले दुई अर्ब ३३ करोड २५ लाख ९६ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको छ । त्यस्तै सबैभन्दा कम कुबेर मर्चेन्ट फाइनान्सले पाँच करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा उठाउन बाँकी छ । यसबाहेक, क्रिस्टल फाइनान्सले ३५ करोड २६ लाख ३३ हजार रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङले एक अर्ब ७० करोड तीन लाख ७५ हजार रुपैयाँ, वल्र्ड मर्चेन्ट बैंकिङले २४ करोड चार लाख ३८ हजार रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकले आठ करोड ५७ लाख ७७ हजार रुपैयाँ, नेपाल फाइनान्सले १५ करोड ६६ लाख ७६ हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकले १९ करोड १५ लाख ४५ हजार रुपैयाँ र ललितपूर फाइनान्सले ३६ करोड १८ लाख ९४ हजार रुपैयाँ कर्जा उठाउन बाँकी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।  

फिर्ता गर्नुपर्ने निक्षेप
समस्याग्रस्त संस्थामध्ये सबैभन्दा बढी क्यापिटल मर्चेन्ट फाइनान्सले ८४ करोड ४२ लाख निक्षेप रकम फिर्ता गर्न बाँकी रहेको भने सबैभन्दा कम कुबेर मर्चेन्ट फाइनान्सकोे सात करोड १३ लाख रुपैयाँ निक्षेप फिर्ता गर्न बाँकी रहेको छ । यसबाहेक, नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा ४७ करोड चार लाख ६४ हजार रुपैयाँ, क्रिस्टल फाइनान्समा २७ करोड ९९ लाख तीन हजार रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङमा ८४ करोड ४२ लाख ३३ हजार रुपैयाँ, वल्र्ड मर्चेन्ट बैंकिङमा १० करोड ७३ लाख ७५ हजार रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकमा १७ करोड २८ लाख ५७ हजार रुपैयाँ, नेपाल फाइनान्समा आठ करोड २६ लाख छ हजार रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकमा सात करोड ७२ लाख ३१ हजार रुपैयाँ र ललितपुर फाइनान्समा १० करोड ९४ लाख २७ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने निक्षेप रहेको छ । 

खराब कर्जा
नौ वित्तीय संस्थामा ९८.७५ प्रतिशत लगानी खराब कर्जामा रूपान्तरण भएको छ । कुवेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स र नेपाल फाइनान्सको शतप्रतिशत नै खराब कर्जा छ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्समा ९८.५८ प्रतिशत, क्रिस्टल फाइनान्समा ९८.१० प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकमा ९६.४० प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकमा ९६.८२ प्रतिशत र ललितपूर फाइनान्समा ९८.८९ प्रतिशत खराब कर्जा रहेको छ । बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशत भन्दा बढी खराब कर्जा भएमा जोखिम मानिन्छ ।

राष्ट्र बैंकले ०७० चैतबाट समस्याग्रस्त संस्था रिजोलुसन महाशाखा गठन गरेर यस्ता समस्याग्रस्त संस्थाहरुको निगरानी गर्दै आएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि ती वित्तीय संस्थाले थप निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाएका छैनन् ।