बैंकिङ खबर । व्यवसाय बढी हुने र नाफा पनि धेरै कमाइने लोभमा प्रायः बैंकहरुले राजधानीभित्रै केन्द्रीय कार्यालय राखेर कारोबार गर्ने गरेका छन् । २८ वटै वाणिज्य बैंकहरु राजधानीमा छन् । प्रायः ठूला विकास बैंकहरुको केन्द्रीय कार्यालय पनि राजधानीमै छन् । पोखरामा रहेर राम्रो काम गरिरहेका बैंकहरु पनि आफ्नो हेडअफिस राजधानीमा सारिरहेका छन् ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको माछापूछ्रे बैंक लिमिटेड हालै काठमाडौँको लाजिम्पाटमा सरेको छ । पोखरामा छँदै राम्रो कारोबार गरिरहेको माछापूछ्रेले राजधानीमा सरेर झन् राम्रो प्रगति गरिरहेको छ । गत आर्थिक वर्षदेखि त माछापूछ्रेले अर्बमाथि नाफा कमाएर अर्वपति क्लबमा नै प्रवेश गरिसकेको छ ।
पोखराले जन्माएको वाणिज्य बैंक एउटा मात्रै भएपनि विकास बैंकहरु थुप्रै छन् । पोखराका तीन वित्तीय संस्था कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स लिमिटेड एकआपसमा गाभिएर बनेको कैलाश विकास बैंक लिमिटेडको प्रधान कार्यालय पोखराको न्युरोडमा थियो । पछि, यो बैंक राजधानीमा सर्यो । हाल, कैलाशको केन्द्रीय कार्यालय काठमाडौँको न्यूप्लाजामा रहेको छ ।
त्यस्तै, पोखराको न्युरोडमा स्थापना भएको सांग्रिला डेभलपमेन्ट बैंक पनि राजधानी सहरमा नै पसेको छ । हाल यो बैंकको केन्द्रीय कार्यालय काठमाडौँको बालुवाटारमा रहेको छ । धादिङको सिभिक डेभलपमेन्ट बैंकलाई गाभेर राष्ट्रिय स्तरमा स्तरोन्नति भएको मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय पोखराको पृथ्वीचोकबाट काठमाडौँको कमलादीमा सरेको छ । गरिमा विकास बैंक पनि पोखराबाट हालै काठमाडौँको लाजिम्पाटमा सरेको छ ।
हाल पोखराको लेखनाथस्थित सृजना चोकमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक पनि अब राजधानीमा सर्ने तरखरमा छ । विकास बैंकमध्येमा अब्बल मानिएका ओम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकको केन्द्रीय कार्यालय भने अझै पनि पोखरामा नै छ । पोखराको चिप्लेढुंगामा रहेका यी दुवै बैंकले राजधानीका बैंक सरह नै प्रगति गरिरहेका छन् । राजधानी सर्ने विषयमा यी बैंकले कुनै योजना भने बनाएका छैनन् ।