बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या झन्डै पाँच हजार पुगेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग र लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका अनुसार, गत असार मसान्तसम्ममा क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार हजार सात सय ३० पुगेको छ । जसमध्ये, वाणिज्य बैंकका शाखा सबैभन्दा धेरै दुई हजार एक सय ५५ वटा रहेका छन् । त्यसपछि लघुवित्त वित्तीय संस्थाहरुको एक हजार सात सय दुई, विकास बैंकको सात सय ४३ र वित्त कम्पनीहरुको शाखा संख्या एक सय ३० वटा रहेको छ ।
कुन क्षेत्रमा कति शाखा ?
राष्ट्र बैंकले सार्वजनिक गरेको आफ्नो क्षेत्रीय कार्यालय रहेका काठमाडौँ, विराटनगर, जनकपूर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी क्षेत्रको क्षेत्रगत विवरणअनुसार, सबैभन्दा धेरै बैंक शाखा काठमाडौँ क्षेत्रमा रहेका छन् । यहाँ, वाणिज्य बैंकका सात सय २२, विकास बैंकका एक सय ३९, वित्त कम्पनीका ५६ र लघुवित्त वित्तीय संस्थाका दुई सय नौ गरी कुल एक हजार एक सय २६ शाखा रहेका छन् ।
त्यस्तै, विराटनगर क्षेत्रमा वाणिज्य बैंकका तीन सय २४, विकास बैंकका ७४, वित्त कम्पनीका १४ र लघुवित्तका तीन सय ३८ गरी कुल सात सय ५३ शाखा रहेका छन् । जनकपूर क्षेत्रमा कुल तीन सय ४२ बैंक शाखा छन् । जसमध्ये, वाणिज्य बैंकका एक सय ४६ वटा, विकास बैंकका २२, वित्त कम्पनीका दुई र लघुवित्तका एक सय ७२ शाखा छन् । वीरगञ्ज क्षेत्रमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तका क्रमशः दुई सय १८, ९६, १४ र दुई सय १६ गरी कुल पाँच सय ४४ बैंक शाखा छन् भने पोखरा क्षेत्रमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र लघुवित्तका क्रमशः दुई सय २८, एक सय ७६, १६ र दुई सय १४ गरी कुल छ सय ३४ शाखा छन् ।
त्यसैगरी, सिद्धार्थनगर क्षेत्रमा दुई सय ३२ वाणिज्य बैंक, एक सय ४१ विकास बैंक, १५ वित्त कम्पनी र दुई सय ५७ लघुवित्त गरी कुल छ सय ४५ बैंक शाखा रहेका छन् । नेपालगञ्ज क्षेत्रमा तीन सय ९६ बैंक शाखा छन् । जसमध्ये, एक सय ५९ वाणिज्य बैंक, ६५ विकास बैंक, आठ वित्त कम्पनी र एक सय ६४ लघुवित्त रहेका छन् । धनगढी क्षेत्रमा सबैभन्दा थोरै दुई सय ९० वटा मात्रै बैंक शाखा रहेका छन् । जसमध्ये, एक सय २६ वाणिज्य बैंक, ३० विकास बैंक, दुई वित्त कम्पनी र एक सय ३२ लघुवित्त रहेका छन् ।
यो असारमसान्तसम्मको तथ्यांक भएकाले चालू आर्थिक वर्षमा थपिएका शाखाहरुको विवरण यसमा समावेश छैन । सरकारले हरेक स्थानीय तहमा बैंक पुर्याउने लक्ष्य बमोजिम बैंकहरुले शाखा विस्तारलवाई तीव्र गतिमा अघि बढाइरहेका छन् ।



