साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३३ वटा कम्पनिको ८ लाख ६६ हजार २ सय ८२ कित्ता शेयर ३ हजार ७ सय ५९ पटक खरिदविक्रि हुँदा कुल ७३ करोड १७ लाख ८८ हजार ७ सय ५६ रुपैँयाको कारोबार भयो । नेप्से परिसूचक ४.९८ अंकले घटेर १४६३.१३ अंकमा पुगी साताको कारोबार बन्द भयो ।
साताभरमा २ अर्ब ५३ करोड ५४ लाख ८३ हजार ३ सय ७३ रुपैँयाको शेयर कारोबार भयो । कारोबार रकम गत साताको तुलनामा कम हो । गत साता ३ अर्ब ८४ करोड १४ लाख ९५ हजार २ सय ३३ रुपैँयाको शेयर कारोबार भएको थियो । यद्यपि, गत साता पाँचै दिन कारोबार भएको थियो भने यस साताको आइतबार मजदुर दिवस परेकाले नेप्से कारोबार भएको थिएन । साताभर कारोबार रकममा उतारचढाव आइरह्यो । सोमबार ७६ करोडमाथिको शेयर कारोबार भएको बजारमा मंगलबार ९६ करोडमाथिको कारोबार भयो । बुधबार कारोबार रकम घटेर ७२ करोडमा सिकित भयो भने विहिबार फेरि सामान्य सुधारिँदै ७३ करोडमाथिको कारोबार भयो ।
यस साता नेप्से परिसूचक १.६१ अंकले घट्यो । गत साताको अन्तिम दिन १४६४.९१ अंकमा बन्द भएको नेप्से यस साता १४६३.१३ अंकमा छ । कारोबार रकमसँगै नेप्से परिसूचक पनि यस साता घटबढ भइरह्यो । साताको कारोबारको पहिलो दिन अर्थात् सोमबार ९.५६ अंकले बढेको नेप्से मंगलबार २.५२ अंकले ओरालो लाग्यो ।
त्यस्तै, बुधबार र विहिबार क्रमशः ३.८४ र ४.९८ अंकले घट्यो । यस साता सरकार ढल्ने हल्लाका कारण शेयर बजारमा लगानीकर्ताको उत्साह कम देखियो ।
नविल बैँक, इन्भेष्टमेन्ट बैँक, एभरेष्ट बैँक, नेपाल बंगलादेश बैँक लगायतमा लगानीकर्ताहरुको धेरै आकर्षण रह्यो । साझा विकास बैँकका लगानीकर्ताले यससाता धेरै सम्पत्ति बढाए । महाकाली विकास बैँक, हामा मर्चेन्ट एण्ड फाइनान्स लगायतले पनि कमाए । त्यस्तै, मिथिला लघुवित्त विकास बैँकका लगानीकर्ताले धेरै गुमाए ।