२०७४ मंसिर १९ गते

डिम्याट खाता खोल्नेको संख्या बढ्यो, यस्ता छन् आकर्षणहरु

बैंकिङ खबर । डिम्याट एकाउन्ट खोल्ने ग्राहकको संख्या बढेको छ । सेयर बजारमा डिम्याट एकाउन्ट अनिवार्य गरिएपछि डिम्याट एकाउन्ट खोल्नेको संख्यामा वृद्धि भएको हो । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)का अनुसार, मंसिर ११ गतेसम्ममा नौ लाख ८६ हजार पाँच सय ४७ वटा डिम्याट खाता खोलिएको छ । 

यस्ता छन् आकर्षणहरु
सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफूसँग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन । आफूसँग कुनै कम्पनीको सेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ ।