May 6th, 2016

इजरायल जान छुट्नुभो ? अर्को वर्षको लागि यस्ता तयारी गर्नुहोस् 

nepal israelनवराज कुँवर / साना किसान विकास बैंकद्धारा संचालित ‘लर्न् एण्ड अर्न्’ अर्थात कमाई र सिकाई कार्यक्रममा इजरायल जानका लागि यो वर्ष देशका ४० जिल्लाबाट चार सय प्रशिक्षार्थी छानिँदैछन् । इजरायलबाट आएका विभिन्न कलेजका प्रतिनिधि, साना किसान विकास बैंकका अधिकारी तथा नेपालका लागि इजरायली राजदूताबासका प्रतिनिधिहरु समेत बसेर गत मंगलबारबाट छनौट कार्यक्रम चलिरहेको छ । हेटौँडाको एभोकाडो ओर्किड रिसोटमा शनिबार छनौट गर्ने काम सकिने साना किसान विकास बैंकले जनाएको छ ।

यस कार्यक्रममार्फत इजरायल पुगेका सहभागीहरुले त्यहाँको विकसित कृषि देख्न मात्रै नभएर त्यहाँ सामेल भएर काम गर्न र कमाउन समेत पाउँछन् । त्यसैले पनि यो कार्यक्रमले धेरै युवाको ध्यानाकर्षण गराएको छ । अघिल्लो वर्ष बैंकले ३४ जिल्लाका युवाहरुलाई इजरायल पठाएको भएपनि यस पटकदेखि ४० जिल्लासम्मका युवाले इजरायल पुगेर आधुनिक कृषि तालीममा सहभागी हुन पाउने भएका छन् । तीन वर्षअघि नेपालका लागि इजरायली दूतावास, साना किसान विकास बैंक र साना किसान कृषि सहकारीको समन्वय तथा अर्थ र परराष्ट्र मन्त्रालयको सहमतिमा नेपालका साना किसान परिवारका युवाहरुलाई इजरायल पठाउन सुरु गरिएको थियो । धेरै जिल्लाबाट सहभागी लिने गरी छनौट गरिरहेको भएपनि अघिल्लो वर्षभन्दा प्रशिक्षार्थी संख्या भने घटाइएको छ । यसअघि चार सय २५ जना युवालाई इजरायल पठाइएको भएपनि यसपालि भने चार सय मात्र युवालाई इजरायल लैजाने गरी छनौट भईरहेको छ । 

धेरै संख्यामा पठाउँदा इजरायलमा प्रशिक्षार्थीले काम नपाउने समस्या आउन सक्ने भएकाले संख्या घटाइएको बैंकले जनाएको छ । नेपालबाट इजरायल पुगेका प्रशिक्षार्थीहरुले हप्तामा एक दिन कलेजमा पढ्नुपर्छ भने शनिबारबाहेक अन्य दिनहरुमा विभिन्न कृषि फार्महरुमा सैद्धान्तिक ज्ञानको व्यवहारिक कार्यान्वयनस्वरुप काम पनि गर्नुपर्छ । काम गरेबापत प्रशिक्षार्थीहरुलाई इजरायलको श्रमिक ऐनअन्तर्गतको पारिश्रमिक पनि उपलब्ध गराइन्छ । पहिलो चरणमा दुई सय चार, दोस्रो चरणमा पाँच सय २५ र तेस्रो चरणमा ११ सयभन्दा बढी युवाले यो अवसर प्राप्त गरिसकेका बैंकले जनाएको छ ।

यो वर्षलाई स्थानीयस्तरमा रहेको साना किसान कृषि सहकारी संस्था वा महिला साना किसान कृषि सहकारी संस्थाबाट छनौट गर्ने काम पूरा भइसकेको छ भने बैंकबाट हुने छनौट प्रक्रियाको प्रारम्भिक चरण पनि पूरा भइसकेको छ । अब गोला र अन्तरवार्ताबाट छानिएका सहभागीहरुले कागजी र स्वास्थ्य परीक्षणको चरण पार गर्नुपर्ने छ । तर यही बर्ष सहभागीता जनाउन चाहाने तर अहिलेसम्म प्रक्रियामा नआएकाहरुको लागि भने यो अवसर गुज्रिसकेको छ ।

धेरैलाई यस कार्यक्रममा सहभागी हुन चाहिने यसका प्रक्रिया र मापदण्डहरु के–के हुन् भनेर थाहा नहुन पनि सक्छ । क–कसले यो तालीममा सहभागी हुन पाउँछन् र कति योग्यता आवश्यक पर्छ भन्नेबारे पनि धेरै अनविज्ञ भएको पाइन्छ । यो कार्यक्रममा सहभागी हुनका लागि निम्नलिखित मापदण्ड पूरा गर्नुपर्ने सर्त बैंकले राखेको छ । 
१. प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्छ । 
२. कम्तिमा २१ वर्षदेखि ३१ वर्ष ननाघेको हुनुपर्छ । 
३. स्थानीय स्तरमा रहेको साना किसान बिकास बैंकसम्बद्ध साना किसान कृषि सहकारी संस्था लिमिटेडको शेयर सदस्य परिवारको हुनुपर्नेछ । 
५.शेयर सदस्य भएको कम्तिमा एक वर्ष पूरा भएको हुनुपर्नेछ ।
६. कृषि पेसा नै मुख्य पेसा भएको हुनुपर्नेछ । 
७. कम्तिमा १० लाख बराबरको धितो वा दृष्टिबन्धक गराउन सक्नुपर्नेछ ।
८. शेयर सदस्य परिवारको घरको छोरी बिवाह गरेर अन्य क्षेत्रमा गएको अवस्थामा साबिकको क्षेत्र वा ठाउँबाट उनको लागि कोटा दाबीपूर्ण रहने छैन ।

माथि उल्लेखित मापदण्ड वा सर्त पूरा गर्ने जो कोहीले पनि यस कार्यक्रममा सहभागीता जनाउन पाउनेछन् । यस कार्यक्रममा सहभागी हुन धेरै रकम पनि खर्च हुँदैन । छनौट प्रक्रियादेखि स्वास्थ्य परीक्षणसम्मका सामान्य खर्चबाहेक, प्लेन टिकेटका लागि ५० देखि ७० हजार(अनुमानित) रकम खर्च हुन्छ भने कुनै–कुनै कलेजले ‘रिफन्डेवल अमाउन्ट’ अर्थात पछि फिर्ता हुने गरी कलेजमा डिपोजिट राख्न माग गरेका हुन्छन् । यस्तो अवस्थामा एक हजार डलर अर्थात चानचुन सवा लाख रुपैयाँ गोजिमै बोकेरै जानुपर्छ । अर्को वर्षका लागि इजरायल जान इच्छुकहरुले अहिलेदेखिनै स्थानीय स्तरमा रहेको साना किसान सहकारीको शेयर सदस्य बन्नेदेखि कार्यक्रमका लागि आवश्यक सबै जानकारी लिन सुर गरे आगामी बर्षलाई सजिलो हुन्छ ।