बैंकिङ खबर । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शशिन जोशीले एक कार्यकाल पनि पूरा नहुँदै बैंकबाट राजिनामा दिएका छन् । बैंकको संचालक समितिले सोमबार बसेको बैठकबाट आगामी फागुन ५ गतेदेखि लागु हुने गरि राजिनामा स्विकृत पनि गरिसकेको छ । २०७२ असार १३ गतेदेखि नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका जोशीले साढे दुई वर्षपनि नभई राजीनामा दिएका हुन् ।
को हुन्, शशिन जोशी ?
बैंकिङ क्षेत्रमा लामो समय बिताइसकेका बैंकर शशिन जोशीको बैंकिङ करिअरको सुरुवात नविल बैंकबाटै भएको थियो । जोशीले तत्कालिन नेपाल अरब (अहिलेको नबिल) बैंकबाट म्यानेजमेन्ट ट्रेनीबाट बैंकिङ करिअर सुरु गरेका थिए । नबिलपछि तत्कालिन ग्रिन्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंक हुँदै एनआइसी बैंकमा छिरेका थिए । जोशीको साढे १२ बर्ष सम्म प्रमुख कार्यकारी तहमा गरी बैंकिङ क्षेत्रमा ३० बर्षको अनुभव छ । जोशी बैंकर्स संघका अध्यक्ष समेत भइसकेका छन् ।
किन छोड्दैछन्, नविल बैंक ?
बैंक व्यवस्थापनसँगको मनमुटावका कारण जोशीले एक कार्यकाल पनि पूरा नगरी बीचमै नविल बैंक छोड्न लागेको चर्चा छ । केही समयअघि नविल बैंकका कर्मचारीहरुले बैंक व्यवस्थापनको राजीनामा माग गर्दै एक सातासम्म आन्दोलन समेत गरेका थिए । बैंकको व्यवस्थापन समतिले नियम कानूनलाई वेवास्ता गरी मनखुुसी तरिकाले काम कारवाही गरेको कर्मचारीहरुको आरोप थियो । त्यसयता, बैंक व्यवस्थापनसँग शशिन जोशीको कुरा नमिलेको र उनले बैंक छोड्न लागेको हल्ला चलेको थियो । यद्यपि, जोशीले यस विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन् । अब भने फागुन ५ गतेदेखि जोशीले नविल बैंक छोड्ने पक्का भइसकेको छ ।


