Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकमा एप्लाई गर्नेको गुनासो –‘बैंकले वान्टेड खोल्छ, भित्रभित्रैबाट मान्छे राख्छ’

२०७४ मंसिर १५ गते

बैंकिङ खबर । बैंकहरुले वान्टेड खोलेपनि भित्र भित्रैबाट आफ्नो मान्छेलाई नियुक्त गर्ने गरेको भन्दै बैंकमा एप्लाई गर्नेहरुले गुनासो गर्न थालेका छन् । अहिले बैंकहरुले धमाधम शाखा विस्तार गरिरहेका बेला बैंकिङ क्षेत्रमा थुप्रै कर्मचारीको आवश्यकता भइरहेको छ । सोही अनुरुप बैंकहरुले भ्याकेन्सी पनि खोलीरहेका छन् । यद्यपि, देखावटीका लागि मात्रै भ्याकेन्सी खोल्ने र कर्मचारी राख्ने बेलामा भित्रभित्रैबाट अथवा चिनजानका आधारमा राख्ने गरेको भन्दै जागीरका लागि एप्लाई गरेकाहरुले आक्रोश पोख्ने गरेका छन् ।

धेरैबाट थोरै छान्दा रिजेक्सनमा अधिकांश
बैंक तथा वित्तीय संस्थाहरुले धेरै आवेदन आएमा छनौट गरेर उत्कृष्टलाई राख्ने उद्देश्यले थोरै कर्मचारी आवश्यक हुँदा पनि धेरैको संख्यामा दरखास्त आह्वान गर्दछन् । यसै कारणले गर्दा, धेरै जसो आवेदकले रित्तो हात फर्किनु परेको छ । बैंकहरुले सयौँको संख्यामा कर्मचारी माग गरिरहेपनि आफूहरुलाई नराखेको भन्दै रिजेक्ट भएकाहरुले बैंकको आलोचना समेत गर्ने गरेका छन् । बैंकहरुले आफन्तहरुलाई राखेर आफूलाई नराखेको उनीहरुको आरोप छ । यता, बैंकहरु भने यो आरोप झुटो भएको दाबी गर्दै आएका छन् । बैंकमा जागीर गर्न आवश्यक ज्ञान तथा योग्यता नभएकै कारण आफूहरुले रिजेक्ट गर्ने गरेको बैंकहरु बताउँछन् । बैंकमा जागीर खान खोज्नेको संख्या धेरै हुने तर, बैंकमा जागीर सीमित हुने भएकाले अधिकांशले रिजेक्ट हुनुपरेको छ ।

काम नै नपाएपछि अनुभव कसरी ?
बैंकहरुले अनुभवी कर्मचारी मागेकोमा पनि कतिपयको विरोध रहने गरेको छ । सुरुमा अनुभव भएन भन्दै कसैले जागीर नदिएपछि कसरी हासिल गर्ने अनुभव ? भन्ने प्रश्न आउने गरेको छ । बैंक भनेको सर्वसाधारणको पैसाको हिफाजत गर्ने जिम्मेवारी सम्हालेको संस्था हो । त्यसैले, यहाँ सँधै उत्कृष्ट कर्मचारीहरुको खोजी गरिन्छ । पछिल्लो समय नेपालमा मेनेजमेन्ट पढेका विद्यार्थीहरुको खाँचो छैन । एउटा बैंकमा रोजगारी खुल्यो भन्ने सुन्नेवित्तीकै मेनेजमेन्टका विद्यार्थीहरुको लाइन लाग्छ । तीमध्येबाट बैंकले सबैभन्दा उत्कृष्टलाई छान्छ । शैक्षिक योग्यता मात्र नभएर व्यवहारिक ज्ञान तथा वित्तीय चेतनासमेतलाई आधार मानेर बैंकहरुले उत्कृष्ट कर्मचारी छान्ने गर्दछ । बैंकले अनभुव भएकालाई मात्र नभएर अनुभव नभएकाहरुका लागि पनि अवसर प्रदान गर्छ । मात्र, तपाईँहरुमा धैर्यताको आवश्यकता छ । बैंकहरुमा इन्टर्नसिप गरेर, अथवा सहायक स्तरबाट प्रवेश गरेर करिअर बनाउने अवसर बैंकहरुले प्रदान गरिरहेका छन् । 

वित्तीय चेतना छ कि छैन ?
व्यवस्थापन संकायमा ब्याचलर वा मास्टर्स गरेको छु भन्नेवित्तीकै बैंकमा त जागीर पाइहाल्छु नि भन्ने मानसिकताले थुप्रै युवालाई पछि पारेको छ । कतिपय व्यवस्थापन संकायकै विद्यार्थीलाई पनि बैंकबारे स्पष्ट जानकारी नभएको बैंकरहरु बताउँछन् । जागीरको लागि अन्तर्वार्ता लिन जाँदा बैंकको बारेमा कतिको जानकारी छ भनेर जाँच गरिन्छ । बैंक के हो ? नेपालमा बैंकलाई कति प्रकारमा वर्गीकरण गरिएको छ ? लघुवित्त संस्था के हो ? यसको काम के हो ? लगायत बैंकमा प्रयोग गरिने सफ्टवेर, प्रविधिहरु, कर्जा, निक्षेप लगायतका विषयमा पनि जवाफ दिन नसक्ने विद्यार्थीहरु धेरै छन् । वित्तीय चेतना नहुँदा थुप्रै विद्यार्थीहरुको बैंकर बन्ने चाहना अधुरो रहने गरेको छ । वित्तीय चेतनाको कमी यतिसम्म छ कि कुनै सहकारीमा काम गर्ने व्यक्तिलाई तपाईँ केमा काम गर्नुहुन्छ ? भनेर सोध्दा ‘फाइनान्समा’ भन्ने गरेको धेरै भेटिन्छ । उनीहरुलाई सहकारी र फाइनान्सबीचको फरक थाहा नहुँदा यस्तो समस्या आएको छ । उता, बैंकमा जागीरको लागि जाँदा पनि सहकारीमा काम गरेको अनुभवलाई फाइनान्समा गरेको भन्ने गरेको पाइएको छ । 

उपत्यकाबाहिर जान हिच्किचाहट
हाल नेपालमा २८ वटा वाणिज्य बैंक, ४० वटा विकास बैंक, २८ वटा फाइनान्स र ५३ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन् । यीमध्ये, राष्ट्रिय स्तरको कारोबार गर्ने प्रायः बैंकहरुको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । केही क्षेत्रीय स्तरका संस्थाहरुको केन्द्रीय कार्यालय उपत्यकाबाहिरका विभिन्न सहरहरुमा रहेको छ । यद्यपि, ती बैंकहरुका अधिकांश शाखा उपत्यकाबाहिर रहेका छन् । उपत्यकाभित्रका शाखाका काम गर्नका लागि जति आकर्षण छ, उपत्यकाबाहिरका शाखामा काम गर्न खासै आकर्षण नरहेको बैंकरहरुको अनुभव छ । उपत्यकाबाहिरका शाखाहरुमा काम गर्न हिच्किचाउने भएका कारण पनि कतिपय आवेदकहरु रिजेक्सनमा पर्ने गरेका छन् ।