Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

बैदेशिक रोजगार बचतपत्र : प्रयोग नहुनुका पाँच कारणहरु

२०७४ मंसिर १६ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने विभिन्न ५ उपकरणमध्ये एक हो वैदेशिक रोजगार बचतपत्र । वैदेशिक रोजगारीमा रहेका कामदारलाई बचतमा आकर्षित गर्ने उद्देश्यले सरकारले आठ वर्षअघि  ‘बैदेशिक रोजगार बचतपत्र’ को सुरुवात गरेको थियो । यो योजनाले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको थियो । यद्यपि, लक्षित वर्गलाई नै आकर्षित गर्न नसक्दा यो योजना प्रभावकारी हुन सकेको छैन । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले प्रत्येक वर्ष वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । यद्यपि, यसको विक्रीको अवस्था अत्यन्तै न्युन हुने गरेको छ । 

आठ वर्षमा साढे ५४ करोड बराबरको बचतपत्र विक्री
आर्थिक वर्ष २०६६।०६७ देखि हालसम्म आठ वर्षको अवधिमा राष्ट्र बैंकले १४ पटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ । यद्यपि, हालसम्म निष्काशित वैदेशिक रोजगार बचतपत्रको ५.१५ प्रतिशत मात्रै विक्री भएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले हालसम्म कुल १० अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बराबरको बचतपत्र निष्कासन गरेकोमा ५४ करोड ५७ लाख रुपैयाँ बराबरको मात्र बचतपत्र बिक्री भएको हो । 

बचतपत्र बेच्नका लागि अहिले नीजि रेमिट्यान्स कम्पनी र बैंकहरुले एजेण्ट लिएका छन् । उनीहरु बैदेशिक रोजगारमा रहेका नेपालीहरुको दैलोमा पुगिरहेका छन् । उनीहरु विक्रि एजेण्ट भएकाले यसको प्रचारप्रसारमा अझ वढि क्रियाशिलता देखाउँछन् भन्ने सरकारी विश्वास छ । तर पनि परिणामले यसको गतिलो प्रभाव देखाएको छैन ।

किन छैन आकर्षण ?

  • वैदेशिक रोजगार बचतपत्रबारे लक्षित वर्ग नै अन्जान छन् । प्रवासमा रहेका धेरैजसो नेपालीलाई बचतपत्रबारे थाहै छैन । बचतपत्र कहिले जारी हुने, फाराम कहाँ पाउने, रकम कुन ठाउँबाट पठाउने, विनिमय दर कति हुने, बचतपत्रको लागि कति व्याजदर दिने लगायतका विषयमा राष्ट्र बैंकले आफ्नो साइटमा राख्ने गरेको भएपनि त्यसको प्रभाव खासै देखिएको छैन । प्रवासमा बस्ने नेपालीहरु बचतपत्रबारे थाहै नभएको बताउँछन् । 
  • सबैभन्दा पहिले ऋणपत्रबारे थाहा नै नपाउने र थाहा पाए पनि धेरैले नबुझ्ने हुँदा प्रवासी नेपालीहरुले बचतपत्र खरिदमा चासो देखाउँदैनन् । 
  • त्यस्तै, पहुँचको अभावले पनि यस्तो बचतपत्रको विक्री दर बढ्न नसकेको हो । बचतपत्र विक्री गर्ने एजेन्टसम्म प्रवासमा रहेका कामदार नेपालीहरुको पहुँच नपुग्दा लक्षित वर्गले वैदेशिक बचतपत्र खरिद गर्ने अवसर नपाउने अवस्था आइरहेको छ । 
  • नेपाल राष्ट्र बैंकले पनि बचतपत्र र यसबाट हुने फाइदाका बारेमा लक्षित वर्गसम्म प्रचारप्रसार गर्न नसक्दा यसको खरिदमा आकर्षण नदेखिएको स्वीकारेको छ । बचतपत्र बिक्री बढाउनका लागि राष्ट्र बैंकले गत वर्ष कतार र दुबईमा प्रचारप्रसार समेत गरेको थियो । तर, यी कार्यक्रमहरू खासै उपलब्धीपूर्ण देखिएन । 
  • त्यस्तै, पछिल्लो समयमा बैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउनु, रेमिट्यान्स आप्रवाह समेत घट्नुले बचतपत्रको विक्रीदरमा प्रभाव पारिरहेको छ । 

कतिपय जानकारहरु भन्छन्, ‘बचतपत्र बिक्रीमा ह्रास आउनुको मुख्य कारण भनेको सचेतनाको कमी नै हो । बचतपत्र किन्नेलाई घाटा नै छैन, ब्याज पनि बढि आउँछ, राष्ट्रको विकासमा आफ्नो भूमिका पनि रहन्छ । बुझाउन सक्ने हो भने जो कोहीले पनि किन्छ ।’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले बचतपत्रबारे थप सचेतनाका लागि योजना बनाईरहेको बताए । ‘विगतमा असफल जस्तै भएको बचतपत्रबारे प्रवासमा रहेका नेपालीहरुलाई मजाले बुझाउन नसकिएको हामीले महशुस गर्यौँ’ ती अधिकारीले भने, ‘अब यसलाई प्रभावकारी बनाउन सचेतना र यसबारे जानकारी प्रवासमा रहेका नेपालीहरुसम्म पुर्याउने गरी तयारी गरिरहेका छौँ ।’