बैंकिङ खबर । गत साउनमा बनेको वस्तु बजार (कमोडिटी)सम्बन्धी ऐनलाई कार्यान्वयनमा ल्याउन नेपाल धितोपत्र बोर्डले शनिवारदेखि नियमावली लागू गरेको छ । गत शुक्रवार अर्थ मन्त्रालयले कमोडिटीसम्बन्धी नियमावली स्वीकृत गरेपछि बोर्डले कमोडिटी नियमावली २०७४ लागू गरेको हो । ऐनमा भएका अपरिवर्तनीय व्यवस्थालाई सम्बोधन गर्दै उक्त नियमावली तयारको बोर्डले जनाएको छ ।
ऐनमा भएका प्रमुख व्यवस्थाहरु यसप्रकार छन् :
वस्तु विनिमय बजार सञ्चालन गर्दा अनिवार्य रूपमा तोकिएको मापदण्ड पूरा गरी बोर्डमा दर्ता हुनुपर्नेछ । वस्तु विनिमय बजार सञ्चालनका लागि बोर्डको पूर्वस्वीकृति लिएर मात्र कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी संस्थापनका लागि निवेदन दिनुपर्ने छ ।
कम्पनीको प्रस्तावित प्रबन्धपत्र तथा नियमावली, प्रस्तावित संस्थापक तथा स्वामित्व, सम्भाव्यता अध्ययन प्रतिवेदन र प्रस्तावित कारोबार प्रणालीको पूर्ण विवरण उपलब्ध गराउनुपर्नेछ । कम्पनीले प्रस्ताव गरेका विषयमा बोर्डले जाँचबुझ गरेपछि स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।
कम्पनीले अनुमतिपत्र प्राप्त गरेको एक सय ८० दिनभित्र पूर्वाधार तयार गर्नुपर्ने छ । अनुमतिपत्रको अवधि ३ वर्षको हुने छ । अनुमतिपत्रको अवधि सकिनु ९० दिनअगावै कम्पनीले नवीकरणका लागि निवेदन दिनुपर्ने छ ।
कारोबार हुने वस्तुको करार बोर्डबाट अनुमति लिएर वस्तु विनिमय बजार सञ्चालक (एक्सचेञ्ज)मा सूचीकरण हुनु पर्नेछ । सूचीकृत करारको कारोबार राफसाफका लागि छुट्टै व्यवसायी (क्लियरिङ एजेण्ट) नियुक्त गरी उसका जिम्मेवारीका विषयमा सम्झौता गर्नुपर्नेछ भने दलाल व्यवसायी र बजार निर्माताको पनि व्यवस्था गर्नु पर्नेछ ।
व्यवसायीले लगानीकर्ताको आदेश लिएर मात्र कारोबार गर्नुपर्नेछ । तोकिएका वस्तुको करारमा मात्र कारोबार गर्न पाइने व्यवस्था रहेको छ । उक्त कारोबारको पूर्ण जिम्मेवारी दलाल व्यवसायीको हुनेछ ।
लगानीकर्ता आफैँले पनि दलाल व्यवसायीमार्फत विद्युतीय कारोबार प्रयोग गरेर कारोबार गर्न सक्नेछन् । बजार सञ्चालकले सबै कारोबार र लगानीकर्ता (ग्राहक)को पूर्ण अभिलेख राख्नुपर्ने छ । कारोबारको सम्पूर्ण रकम अनिवार्य रुपमा बैङ्कमार्फत लेनदेन गर्नुपर्ने छ ।
वस्तु बजार सञ्चालक (एक्सचेञ्ज)का लागि न्यूनतम चुक्तापूँजी ५० करोड रुपैयाँ हुनुपर्नेछ । कुनै एक सेयरधनीले कुल सेयर पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व ग्रहण गर्न पाउने छैन । तर, विदेशी रणनीतिक साझेदारले भने अधिकतम ५१ प्रतिशतसम्म स्वामित्व लिन पाउनेछ । त्यस्ता साझेदारले लिन पाउने सेयरको न्यूनतम सीमा भने तोकिएको छैन ।
वस्तु विनिमय बजार सञ्चालनको अनुमति लिएको कम्पनीले ५ वर्षसम्म सेयर विक्री गर्न पाउने छैनन् । साथै, निर्धा्रित योग्यता पूरा गरेका व्यक्तिले मात्र त्यस्ता कम्पनीको सेयर स्वामित्व लिन पाउनेछन् । सेयर स्वामित्व हस्तान्तरण गर्न बोर्डको पूर्वस्वीकृति लिनुपर्ने छ । सेयर हस्तान्तरणका लागि सेयर खरीद गरिलिनेको योग्यता पूरा भएको विवरण पेश गर्नुपर्ने छ । सेयर जफत गरिएमा सो सेयरलाई बोलकबोलबाट विक्री गरिने छ ।
बोर्डले सम्पूर्ण कारोबार तथा बजार सञ्चालकका साथै दलाल व्यवसायीका गतिविधिको सूक्ष्म अनुगमन र मूल्याङ्कन गर्नेछ । सुपरिवेक्षण र नियमनका क्रममा कुनै त्रुटि भेटिएमा वा गलत काम कारबाही गरेको भनी कसैले उजुरी दिएमा बोर्डले अनुसन्धान र कारबाही गर्न सक्नेछ । वस्तु विनिमय बजार सञ्चालक तथा व्यवसायीमाथि कुनै मुद्दा चलेमा त्यस्तो मुद्दा सरकारवादी हुने र सोहीअनुरूप सजाय हुने व्यवस्था गरिएको छ ।




