Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

अति दुर्गम क्षेत्रमा बैंकिङ पहुँच पुर्याउँदै ‘महालक्ष्मी विकास बैंक’

२०७४ मंसिर १० गते

बैंकिङ खबर । महालक्ष्मी विकास बैंक लिमिटेडले अति दुर्गम क्षेत्रहरुमा आफ्नो शाखा विस्तार गर्ने भएको छ । बैंकले बैतडी, दार्चुला, बझाङ, बाजुरा जस्ता अति दुर्गम क्षेत्रमा शाखा विस्तार गर्न लागेको महालक्ष्मी विकास बैंकका नवनियुक्त सीईओ कृष्णराज लामिछानेले बताए । ‘हरेक कुरामा नम्बर वान रहेको यस संस्थालाई क्वालिटी, सम्पत्ति स्तर, कर्मचारीको दक्षता लगायतका विषयमा नम्बर वान मात्र नभएर वाणिज्य बैंककै स्तरसम्म पुर्याउने मेरो चाहना छ,’ उनले भने, ‘एक दुई वर्षभित्रमा आफ्नो शाखा नपुगेको स्थानहरुमा १५।२० वटा शाखा विस्तार गर्ने तयारीमा छौँ ।’

वाणिज्य बैंकसरह शाखा
विकास बैंकहरुमध्येमा सबैभन्दा अब्बल रहेको महालक्ष्मी विकास बैंकले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शाखा विस्तार गरेको छ । कतिपय वाणिज्य बैंकले पनि पूर्वदेखि पश्चिमसम्म शाखा विस्तार गर्न नसकिरहेका बेलामा राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मीले वाणिज्य बैंकलाई नै टक्कर दिने गरी शाखा विस्तार गरिरहेको छ । हाल महालक्ष्मी विकास बैंकको शाखा संख्या ६५ रहेको छ । अब छिटै नै थप शाखा विस्तार गरी शाखा संख्या ७० पुर्याउन लागेको सीईओ लामिछानेले बताए । 

दुर्गममा शाखा खोल्न तयार
सरकारले बैंकिङ पहुँच नपुगेका स्थानहरुमा शाखा खोल्न निर्देशन दिएपछि वाणिज्य बैंकसँगै विकास बैंकहरु पनि दुर्गममा शाखा खोल्न लागीपरेका छन् । सबै गाउँपालिका र नगरपालिकाहरुमा शाखा खुलाउने हिसाबले महालक्ष्मी विकास बैंक पनि अघि बढिरहेको बैंकका सीईओ लामिछानेले जानकारी दिए । अहिले नै महालक्ष्मीको शाखा पूर्वदेखि पश्चिमसम्म पुगिसकेको बताउँदै उनले बीचमा ग्याप रहेका अर्थात शाखा नपुगेका स्थानहरुमा पनि शाखा विस्तार गर्ने योजनाअनुरुप गृहकार्य भइरहेको जानकारी दिए ।

शाखा विस्तारले बढाउँछ वित्तीय साक्षरता
गाउँगाउँमा शखा विस्तार हुन थालेपछि स्वतः वित्तीय साक्षरता अभिवृद्धि हुँदै जाने सीईओ लामिछानेको तर्क छ । ‘बैंक शाखा गाउँमा पुगिसकेपछि बैंक के हो र यसबाट कसरी फाइदा लिने भन्ने विषयमा सर्वसाधारण आफैँले पनि जान्न खोज्छन्,’ उनी भन्छन्, ‘बैंकलाई पनि कारोबार गर्नुपर्ने भएकाले उसले पनि बताउँछ र सर्वसाधारणमा बैंकिङ ज्ञान स्वतः बढ्दै जान्छ ।’ बैंक, बैंकिङ कारोबार र यसका फाइदाका बारेमा जानकारी पाएसँगै बैंकिङ कारोबारमा सर्वसाधारणको सहभागीता बढ्ने उनको भनाइ छ ।