२०७४ मंसिर ५ गते

मेगा बैंकमा किचलो हुँदा टुरिजमले पारित गर्यो मर्जर प्रस्ताव

टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडले मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक बीचको मर्जर प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौंमा सम्पन्न ७ औं वार्षिक साधारण सभाले टुरिजम् डेभलपमेन्ट बैंक लि. र मेगा बैंक लि. एक अर्कामा गाभ्ने प्रस्तावलाई  पारित गरेको हो । उक्त मर्जरलाई लिएर मेगा बैंकको साधारणसभामा किचलो हुँदा सोही दिन सम्पन्न टुरिजमको साधारणसभाले भने मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

उक्त सभाले  बैंकको आर्थिक वर्ष २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका  वित्तिय विवरणहरु पारित गरेको छ । साथमा, १७ करोड १० लाख ७७ हजार पाँच सय रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

बैंक स्थापनाकालदेखि नै आफ्ना ग्राहकहरुलाई नयां तथा गुणस्तरिय सेवा दिनमा प्रतिवद्घ रहेको र यसै अनुरुप आफ्ना सेवाहरुलाई आधुनिकीकरण गर्दै पूर्वनिर्धारित योजना अनुरुप शाखा संजाल विस्तार गर्दै देशका विभिन्न क्षेत्रमा बस्ने आमजन समुदायलाई निरन्तर सेवा दिने जानकारी सभामा दिइयो ।