ज्योति विकास बैंक लिमिटेडले सोमबारदेखि काठमाडौंको तारकेश्वर नगरपालिका ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको छ । उक्त शाखाकार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् ।
तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकास बैंकले आफ्नो शाखा संचालनमा ल्याएको हो । गत साताभित्र मात्रै ज्योति विकास बैंकले मकवानपुर जिल्लाको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारी, मकवानपुर जिल्लाकै हेटौंडा बजार र महोत्तरी जिल्लाको रामगोपालपुरमा नयाँ शाखा संचालनमा ल्याएको थियो ।
मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको बैंकले आफ्नो सेवा क्षेत्रलाई शहरी एवं ग्रामिणभेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लैजाने बताएको छ ।
शाखा उद्घाटन कार्यक्रममा तारकेश्वर नगरपालिका ११ नं. वडाका वडा अध्यक्ष बृन्दा बुढाथोकी लगायत वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमा आएको बैंकले ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गराउँदै आएको छ । साथमा, स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने बैंकले जनाएको छ ।
हालसम्म ज्योति विकास बैंकले करिब १२ अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्व ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) पश्चात बैंकको चुक्तापूँजी दुई अर्व ३७ करोड रुपैयाँ पुगेको छ । गत आ.व. को नाफाबाट बोनस सेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्तापूँजी पुर्याउने बैंकको योजना छ ।




