साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा ७३ करोडको कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको ८ लाख ६६ हजार २ सय ८२ कित्ता शेयर ३ हजार ७ सय ५९ पटक खरिदविक्रि हुँदा कुल ७३ करोड १७ लाख ८८ हजार ७ सय ५६ रुपैँयाको कारोबार भएको हो । कारोबार रकम बुधबारको भन्दा थोरै बढी हो । बुधबार बजारमा ७२ करोडको शेयर कारोबार भएको थियो । त्यस्तै, नेप्से परिसूचक ४.९८ अंकले घटेर १४६३.१३ अंकमा पुगी विहिबारको कारोबार बन्द भएको छ ।
दिउँसो ७ अंकसम्म घटेको बजारलाई होटल समूहले केही हदसम्म सम्हालेको छ । होटल समूहको शेयर २०.६८ अंकले बढेको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३७.३६ अंकले घटेको छ । त्यस्तै, जलविद्युत्, विमा, वाणिज्य बैँक, विकास बैँक र फाइनान्स समूह क्रमशः १२.७५, १०.३५, ५.८३, ४.५१ र ०.१४ अंकले घटेका छन् । अन्य समूह भने स्थिर रहेको छ ।
विहिबार एभरेष्ट बैँकको सबैभन्दा धेरै ७ करोड १६ लाख ५९ हजार ६ सय ८८ रुपैँया बराबरको शेयर कारोबार भएको छ भने नेपाल बंगलादेश बैँकको ६ करोड ७६ लाख २० हजार ७ सय ३८ रुपैँया बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, एनआईसी एसियाको ५ करोड २३ लाख ४८ हजार ७ सय ४४ रुपैँयाको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनिको ३ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँक, नविल बैँक, शिखर इन्स्योरेन्स, एनएमबी बैँक, सानिमा बैँक लगायतको २ करोडमाथिको कारोबार भएको छ ।
महाकाली विकास बैँकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । एनआईडीसी क्यापिटल मार्केट्स, हामा मर्चेन्ट एण्ड फाइनान्स र काक्रे विहार विकास बैँकका लगानीकर्ताले क्रमशः ९.६७, ९.६४ र ९.१२ पतिशतका दरले सम्पत्ति बढाएका छन् । युनाइटेड फाइनान्स, साझा विकास बैँक, मिथिला लघुवित्त लगायतले पनि धेरै कमाएका छन् । यता गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको कसमस डेभलपमेन्ट बैँकका लगानीकर्ताले ९.१ प्रतिशतका दरले गुमाएका छन् । रिलायन्स लोटस फाइनान्स, टुरिजम डेभलपमेन्ट बैँक, प्रोग्रेसिभ फाइनान्स, सूर्य लाइफ इन्स्योरेन्स लगायतले पनि गुमाएका छन् ।