जिल्ला कृषि विकास कार्यालय धादिङको पछिल्लो तथ्यांक अनुसार हाल धादिङमा तरकारी बिमा गर्ने कृषकको संख्या जम्मा ६१ रहेको छ भने माछाको बिमा गर्ने कृषकको संख्या ५ रहेको छ । कतिपय स्थानहरुमा व्यक्तिको बिमामा समय पुगेपछि रकम फिर्ता हुने तर बाली बिमामा नोक्सानको मात्रै क्षतिपूर्ति हुने भन्ने गलत बुझाइका कारण पनि बाली बिमाप्रति किसानको ध्यान जान सकेको छैन । बाली बिमा गरेका कुनै पनि किसानको बाली बाढी पहिरो, भूक्षय, रोगव्याधी, जङ्गली जनावरको कारणले क्षति भए बिमा कम्पनीले किसानको पूरै रकम उपलब्ध गराउने प्रावधान रहेको छ । त्यसैले अब सरकारले बिमासम्बन्धि ज्ञान किसानसम्म पु¥याउन जरुरी भईसकेको छ ।
बाली बिमाबारे अझैपनि अधिकांश कृषक अनविज्ञ रहेका छन् । बाली तथा पशुबिमा बारे उचित परामर्श नहुनु तथा सम्बन्धित निकायले बेवास्ता गरेका कृषकहरु अनविज्ञ भएका हुन् । किसानलाई बाली बिमाबारे आवश्यक ज्ञान दिनुपर्छ भन्ने हेतुले सरकारले २०६९ सालमा बाली बिमाको प्रावधान अघि सारेको थियो । तर प्राकृतिक प्रकोप तथा अन्य कारणबाट व्यापक क्षति हुँदा समेत बिमाको बारेमा आवश्यक ज्ञान नभएका कारण प्रभावित किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । एकातिर किसानले बाली बिमा नगराउनुमा सम्बन्धित सरोकारवाला निकायको वेवास्ता मान्न सकिन्छ भने अर्कोतर्फ गाउँघरमा स्थापना भएका कृषक समुह तथा कृषकको अगुवाई गर्ने समुहको कमजोरी देखिन्छ ।