Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ ट्रेनिङ सम्पन्न, मेनेजमेन्ट विद्यार्थी लाभान्वित

२०७४ कार्तिक ३० गते

बैंकिङ खबर । राजधानीमा आयोजित पाँच दिने बैंकिङ ट्रेनिङ विहीबार सम्पन्न भएको छ । कात्तिक २६ गतेदेखि संचालन भएको ट्रेनिङमा झन्डै ४० विद्यार्थीहरुको सहभागीता रहेको थियो । मिडिया इन्टरनेशनलद्धारा आयोजित उक्त बैंकिङ ट्रेनिङमा बैंकिङ क्षेत्रका विभिन्न विज्ञहरुद्धारा प्रशिक्षण दिइएको थियो । 

उक्त बैंकिङ ट्रेनिङको समापन समारोहको सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले बैंकमा जागीर खान चाहने तथा बैंकिङ क्षेत्रलाइै बुझन चाहनेका लागि बैंकिङ ट्रेनिङ अति उपयोगी सावित हुने बताए । आगामी दिनमा पनि यस्ता तालिमहरुको आयोजना गरिनुपर्ने उनको भनाई थियो । 

पाँच दिने तालिममा बैंकमा जागीर पाउनका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक ज्ञान दिइएको थियो । बैंकिङ प्रणालीबाट कसरी कर्जा प्रवाह गरिन्छ र बैंकले व्यापार तथा लगानी कसरी गर्छ भन्ने कुराको जानकारीका साथै बैंकिङ प्रणालीमा पुँजी वृद्धि, जोखिम व्यवस्थापन र तरलता व्यवस्थापन कसरी हुन्छ लगायतका अत्यावश्यकीय जानकारी तालिममा प्रदान गरियो । यसका अलावा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, बैंकका प्रकार र तिनिहरुको काम, कर्तव्य तथा अधिकारहरुका बारेमा प्रष्ट हुन, बैंकिङ अन्तर्वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा बुझ्न, बैंकमा प्रयोग हुने प्रविधि र तिनिहरुलाई प्रयोग गर्ने तरिकाका बारेमा पनि तालिममा जानकारी दिइएको थियो । 

तालिममा सहभागी विद्यार्थीहरुले आफूले बैंकिङ क्षेत्रबारे जान्न चाहेको जानकारीहरु बैंकिङ ट्रेनिङले प्रदान गरेको भन्दै खुसी व्यक्त गरे । तालिममा सहभागी सम्पूर्ण विद्यार्थीहरुका लागि सर्टिफिकेट पनि प्रदान गरिएको थियो । 

बैंकिङ ट्रेनिङ समापन समारोहको अन्त्यमा बोल्दै मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले आगामी दिनमा पनि यस्तो ट्रेनिङहरुको आयोजना गरिने जानकारी दिए । राजधानीमा मात्र नभएर राजधानीबाहिरका क्षेत्रहरुमा पनि बैंकिङ ट्रेनिङको आयोजना गरिने उनले बताए ।