बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये, केहीको मुनाफा बढेको छ भने केहीको घटेको छ । केही ठूला विकास बैंकहरुले वाणिज्य बैंकहरुलाई टक्कर दिने गरि मुनाफा आर्जन गरेका छन् । क्षेत्रीय स्तरका विकास बैंकहरुमा पनि शाइन रेसुंगाले छ करोड ५० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेर वाणिज्य बैंकहरुलाई नै चुनौति दिएको छ । शाइन रेसुंगा १० जिल्ला कार्यक्षेत्र भएको एक मात्र विकास बैंक हो । यसबाहेक, राष्ट्रिय स्तरका विकास बैंकहरुको मुनाफा पनि आकर्षक रहेका छ । त्यस्तै, तीन जिल्ले र एक जिल्ले गरेर आधा दर्जन विकास बैंकहरुले पनि प्रथम त्रैमासिक विवरण प्रस्तुत गरेका छन् । तीनै विकास बैंकहरुको वित्तीय विवरण यहाँ प्रस्तुत गरिन्छ :
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक्सेलले दुई करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३८ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३७ करोड छ लाख रुपैयाँ राखेको छ । निक्षेपमा चार अर्ब ५५ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा तीन अर्ब ८७ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ करोड ७१ लाख रुपैयाँ पुगेको छ । भने संचालन मुनाफा चार करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ६० लाख रुपैयाँ राखेको छ भने ७६ लाख रुपैयाँ खराब कर्जा उठाएको छ । एक्सेल डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३२ दशमलव ८१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ९४ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६८ दशमलव ९० रुपैयाँ र तरलता अनुपात २९ दशमलव ७३ प्रतिशत रहेको छ । त्यस्तै, निष्कृय कर्जा एक प्रतिशत रहेको छ भने जोखिम युत्त सम्पत्ति १५ दशमलव २७ प्रतिशत रहेको छ ।
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मितेरी डेभलपमेन्ट बैंकले दुई करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३८ करोड दुई लाख रुपैयाँ चुक्ता पुँजीको भएको बैंकले जगेडाकोषमा २३ करोड ६१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २१ दशमलव ०८ प्रतिशतले वृद्धि गरी दुई अर्ब ७८ करोड ५१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा दुई अर्ब ४४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव ५२ प्रतिशतले घटेर चार करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० प्रतिशतले बढेर तीन करोड ६५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३३ लाख रुपैयाँ राखेको छ । मितेरी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी वार्षिक २४ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २१ दशमलव ८३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ६२ दशमलव ०१ रुपैयाँ, तरलता अनुपात ३४ दशमलव २८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०७ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति २१ प्रतिशत रहेको छ ।
तिनाउ विकास बैंक लिमिटेड
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तिनाउ विकास बैंकले एक करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव २७ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा तिनाउ विकास बैंकले एक करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । यो अवधिमा बैंकले चार अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २५ करोड २८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकको खुद व्याज आम्दानी ६२ लाख रुपैयाँले घटेर तीन करोड १२ लाख ५७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि उल्लेख्य रुपमा घटेर तीन करोड १२ लाख ५७ हजार रुपैयाँ पुगेको छ । तिनाउ विकास बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ नौ पैसावाट १३ रुपैयाँ ६१ पैसामा झरेको छ भने मूल्य आम्दानी अनुपात २० दशमलव ४३ गुणा रहेको छ ।
पूर्णिमा विकास बैंक लिमिटेड
पूर्णिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ दशमलव ३८ प्रतिशत कम हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा पूर्णिमाले एक करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ४४ करोड चार लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा २२ करोड दुई लाख रुपैयाँ राखेको छ । निक्षेपमा पाँच दशमलव २८ प्रतिशत वृद्धि गरी दुई अर्ब ५३ करोड ३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १४ दशमलव ५१ प्रतिशतले वृद्धि गरी दुई अर्ब नौ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी आठ दशमलव ८२ प्रतिशतले बढेर तीन करोड १८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३ दशमलव ०७ प्रतिशतले घटेर एक करोड ९७ लाख रुपैयाँ पुगेको छ । पूर्णिमा विकास बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६ दशमलव ०२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५० दशमलव ०१ रुपैयाँ र तरलता अनुपात ४३ दशमलव ०३ प्रतिशत रहेको छ ।
त्यस्तै, बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३६ प्रतिशत र जोखिमयुक्त २५ दशमलव ८७ प्रतिशत रहेको छ ।
एक जिल्लालाई कार्यक्षेत्र बनाएर कारोबार गरिरहेका हाम्रो विकास बैंक र साहारा विकास बैंकको पनि विवरण सार्वजनिक भएको छ । बाँकी दुई विकास बैंकहरु काबेली विकास बैंक र माउन्ट मकालु डेभलपमेन्ट बैंकले भने वित्तीय विवरण सार्वजनिक गरिसकेका छैनन् । यी दुई विकास बैंकहरु एकआपसमा गाभिएर तीन जिल्ले विकास बैंक बन्ने तरखरमा छन् ।
हाम्रो बिकास बैंक लिमिटेड
हाम्रो बिकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नौ दशमलव १३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हाम्रो विकास बैंकले एक करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ४५ करोड ८७ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा आठ करोड ७२ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १६ दशमलव ४७ प्रतिशतले वृद्धि गरी एक अर्ब ३२ करोड ९४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक अर्ब २१ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी पाँच दशमलव २६ प्रतिशतले बढेर दुई करोड नौ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा सात दशमलव १४ प्रतिशतले बढेर एक करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा १९ लाख रुपैयाँ राखिएको छ । हाम्रो विकास बैंकको पूँजीकोष अनुपात ३४ दशमलव ८२ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव ४४ प्रतिशत र प्रतिसेयर आम्दानी वार्षिक आठ दशमलव ७८ रुपैयाँ रहेको छ ।
साहारा विकास बैंक लिमिटेड
साहारा विकास बैंक लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २९ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा पनि यो बैंक २३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । सात करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा चार करोड चार लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलव २५ प्रतिशतले गिरावट आई ४५ करोड ३४ लाख रुपैयाँ संकलन भएको बैंकको कर्जा लगानी १९ प्रतिशतले वृद्धि भई ३७ करोड ९८ लाख रुपैयाँ पुगेको छ । बैंंकको खुद व्याज आम्दानी दुई सय गुणाले बढेर ६० लाख रुपैयाँ पुगेको छ भने संचालन ४६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । साहारा विकास बैंकको निष्कृय कर्जा पाँच दशमलव ६४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ४४ दशमलव ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी वार्षिक १६ दशमलव ०९ रुपैयाँ नेगेटिभ, मुल्य आम्दानीको अनुपात वार्षिक २८ दशमलव ६० गुणा नेगेटिभ, प्रतिसेयर नेटवर्थ एक सय ५५ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात ४० दशमलव ५२ प्रतिशत रहेको छ ।




