Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, साताभरिका उत्कृष्ट बैंकिङ खबरहरु

२०७४ कार्तिक २४ गते

बैंकिङ खबर । हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

एक्विजिसनपछि देवः विकास बैंकको एकीकृत कारोबार
देवः विकास बैंक लिमिटेडले साझा विकास बैंक र युनियन फाइनान्स लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्यो । विहिबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीले उक्त एकीकृत कारोबारको उद्घाटन गरे । एक्विजिसनपछिको बैंकको नाम देवः विकास बैंक नै राखिएको छ भने चुक्तापुँजी दुई अर्ब २८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको निर्देशनअनुरुप दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी बैंकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ ।

एनआईबिएल र एस क्यापिटलबीच मर्जर सम्झौता
एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड बीच एक आपसमा गाभिने (मर्जर) सम्बन्धी सम्झौता भयो । एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लिमिटेडलाई नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले प्राप्ती गरी नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडमा समाहित भएको हुनाले एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटल दुवै संस्थाहरु हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीहरु हुन गएको र नेपाल धितोपत्र बोर्डको नीति निर्देशनले समेत एकै मुख्य कम्पनीको एकै उद्देश्य र प्रकृतिका दुई सहायक कम्पनी भएमा एक–आपसमा गाभ्नु÷गाभिनु (मर्जर) पर्ने व्यवस्था गरेकोले एक आपसमा गाभ्ने÷गाभिने सम्झौता गरिएको हो । दुई कम्पनी गाभिए (मर्ज) पश्चात कम्पनीको चुक्तापूँजी रु.२७ करोड पुग्नेछ ।

भूकम्पपीडितलाई सामुहिक जमानीमा निव्र्याजी ऋण
भुकम्पपीडितहरुले अब सामुहिक जमानी वा धितो जमानीमा पनि निव्र्याजी ऋण पाउने भएका छन् । ऋणीले ३ र ५ बर्षमा तिरिसक्ने गरी तीन लाख रुपैयाँसम्म ऋण लिन पाउनेछन् । यस्तो कर्जा लिनको लागि  ऋणी तथा उसको परिवारमा बस्न योग्य आवाशीय घर नभएको र नेपाल सरकारले जारी गरेको भूकम्प पीडित परिचयपत्र हुनुपर्नेछ । यस्तो ऋण दिँदा बैंक तथा वित्तीय संस्थालाई लाग्ने खर्च सरकारले ब्यहोर्ने छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामामा संचालन लागतको २ प्रतिशत विन्दु थप गरी सरकारबाट पैसा लिनेछन् । पीडितलाई घर बनाउन दिइएको ऋण रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा कर्जा सुरक्षण निगमबाट सुरक्षण गराउनु पर्नेछ । कर्जाको ब्याज, बीमा तथा सुरक्षण शुल्क वापतको रकम नेपाल राष्ट्र बैंकमा खडा गरिएको कोषबाट ३÷३ महिनामा सम्बन्धित बैंकहरुले पाउनेछन् । यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने गरी बैंकहरुलाई पनि सुविधा दिइएको छ । बैंकहरुले यस्तो कर्जा छिटो छरितो र सरल ढंगले दिने ब्यवस्था मिलाउनुपर्नेछ । सामुहिक जमानीमा दिइने ऋण उपलब्ध गराउने सम्बन्धि जानकारी दिन बैंकहरुले छुट्टै सम्पर्क अधिकृत समेत तोक्नुपर्नेछ । सामुहिक जमानीमा दिइने निब्र्याजी ऋण उपलब्ध गराउने कार्यको समन्वय तथा अनुगमन गर्न डेपुटी गभर्नरको संयोजकत्वमा एउटा समिति पनि गठन गरिएको छ ।

प्याराडाइज पेपर्स लिक
बैंकिङ खबर । पानामा पेपर्स लिक भएको १८ महिना पनि नबित्दै कर छलीसँग सम्बन्धित अर्को पेपर लिक भएपछि धनाढ्यहरु फेरि फन्दामा परे । अमेरिकास्थित खोज पत्रकारहरुको अन्तरराष्ट्रिय कन्सोर्टियम (आईसीआईजे)ले बर्मुडास्थित कानून कम्पनी एप्पलबायका एक करोड भन्दा धेरै दस्तावेज सार्वजनिक गरेका हुन् । प्याराडाइज पेपर्स नाम दिइएको दस्तावेज चुहावटले विश्वका धनी र शक्तिशाली मानिसहरुले कर छल्न आफ्नो सम्पत्ति कसरी ट्याक्स हेभनमा लगानी गरिरहेका छन् भन्ने कुराको खुलासा गरेको छ । यसमा बेलायती रानी एलिजावेथ द्वितीय, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कयौं मन्त्रीहरु, क्यानडेली प्रधानमन्त्री जष्टिन टुडोका प्रमुख फण्डरेजर, भारतका उड्डयन मन्त्री जयन्त सिन्हा, कोलम्बियाका राष्ट्रपति जुआन म्यानुएल सान्तोस, आइरिस गायक बोनो र अमेरिकी गायिका म्याडोना लगायत एक सय २७ जना उच्च पदस्थ र लोकप्रिय व्यक्तित्वहरुको नाम मुछिएको छ । विश्वका एक सय ८० देशका मानिसहरुको नाम यसमा मुछिएको छ । 

नयाँ लघुवित्तको कारोबार सुरु
आइतबारदेखि ’सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड’को बिधिवत रुपमा कारोबार शुरुवात भयो । गत आषाढ २५ गते देखि राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तिय संस्थाको रुपमा कार्यक्रम संचालनको अनुमती पाएको यस सबैको लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बन्दिपुर–१ डुम्रेमा आयोजित कार्यक्रमका बीच कारोबार सुरु गरिएको हो । नेपाल राष्ट्र बैकका डेपुटि गभर्नर चिन्तामणि शिवाकोटीले कारोबारको बिधिवत शुभारम्भ गरे । कार्याक्रममा डेपुटि गर्भनर सिवाकोटीले लघुवित्तले शहर भन्दा ग्रामीण तथा दुर्गम केन्द्रित कार्यक्रम संचालन गर्नुपर्ने बताए । लघुवित्तमा दाहोरोपनाका कारण कर्जाको सहि उपयोग हुन नसकेको बताउँदै डेपुटी गभर्नर शिवाकोटीले आवश्यक मात्रामा मात्र कर्जा लिई कर्जाको सही सदुपयोग गर्न तथा बचत गर्ने बानी बसाल्नका लागी ग्राहक वर्गलाई समेत सुझाव दिए । कार्यक्रममा संस्थाकी अध्यक्ष सृजना जोशी तथा प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले यस वित्तीय संस्थाले राष्ट्र बैकको निर्देशन बमोजिम नै गरिब तथा विपन्न वर्गमा केन्द्रित भई सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

एनआईसी एशिया बैंकका आठ शाखा विस्तार
एनआईसी एशिया बैंकले यो साताभरमा मुलुकभरका विभिन्न स्थानमा गरेर आठ वटा शाखा विस्तार गर्यो । बैंकले बाँकेस्थित खजुरा गाउँपालिका वडा नं. ०३, बर्दिया नगरपालिका वडा नं ६ मगरागडी, मोरङस्थित कानेपोखरी गाउँपालिका वडा नं ६ रमाईलो चोक, कैलालीको जोशीपुर गाउँपालिका वडा नं. ०२, जाजरकोटको भेरी नगरपालिका वडा नं ०४, झापाको गौरादह नगरपालिका वडा नं. ०३, सुनसरीको ईटहरी उप– महानगरपालिका वडा नं २० तरहरा र रुकुम जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ०५ बागबजारमा नयाँ शाखा विस्तार गरेको हो ।

अन्य

  • सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारलाई १० थान कम्प्युटर उपलब्ध गरायो ।
  • नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड बिच  तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भयो ।
  • नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजीबि नेपालले कोरियामा जीएमईले संचालनमा ल्याएको पहिलो शाखाको अवलोकन भ्रमण गर्दै सफलताको शुभकामना ब्यक्त गरे ।
  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६६औं शाखा महोत्तरीको औरहीमा संचालनमा ल्यायो ।
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले आईतबार (कात्तिक १९ गते) चितवनको खैरहनि नगरपालिका वडा नं. ८, स्थित पर्सा शाखाको विधिवत उद्घाटन गर्यो ।
  • सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६५औं शाखा झापाको हल्दिबारीमा संचालनमा ल्याएयो ।  
  • रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका बिदेशिहरुलाई लक्षित गरि ग्लोबल मनि एक्सप्रेस रेमिट्यान्स कम्पनिको औपचारिक समुद्घाटन भयो ।
  • दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत नगद रु. १० लाख राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरियो ।