बैंकिङ खबर । भुकम्पपीडितहरुले अब सामुहिक जमानी वा धितो जमानीमा पनि निव्र्याजी ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार (कात्तिक २१ गते) सो सम्बन्धि कार्यविधि सार्बजनिक गर्दै गत २०७२ को बिनाशकारी भूकम्पको कारण भत्किएका घर बनाउन सामुहिक जमानी वा धितो जमानीमा पनि निब्र्याजी ऋण दिने निर्णय गरेको हो । जसअनुसार, अब भूकम्पपीडितले घर बनाउनको लागि आफूसँग धितो भए धितो राखेर वा नभए सामुहिक जमानीमा तीन लाख रुपैयाँसम्म निव्र्याजी ऋण पाउनेछन् । ऋणीले ३ र ५ बर्षमा तिरिसक्ने गरी ऋण लिन पाउनेछन् ।
यस्तो कर्जा लिनको लागि राष्ट्र बैंकले केही शर्तहरु तोकेको छ ।
- ऋणी तथा उसको परिवारमा बस्न योग्य आवाशीय घर नभएको र नेपाल सरकारले जारी गरेको भूकम्प पीडित परिचयपत्र हुनुपर्नेछ ।
- यस्तो ऋण दिँदा बैंक तथा वित्तीय संस्थालाई लाग्ने खर्च सरकारले ब्यहोर्ने छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जामामा संचालन लागतको २ प्रतिशत विन्दु थप गरी सरकारबाट पैसा लिनेछन् ।
- पीडितलाई घर बनाउन दिइएको ऋण रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा कर्जा सुरक्षण निगमबाट सुरक्षण गराउनु पर्नेछ । कर्जाको ब्याज, बीमा तथा सुरक्षण शुल्क वापतको रकम नेपाल राष्ट्र बैंकमा खडा गरिएको कोषबाट ३÷३ महिनामा सम्बन्धित बैंकहरुले पाउनेछन् ।
- यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्ने गरी बैंकहरुलाई पनि सुविधा दिइएको छ । बैंकहरुले यस्तो कर्जा छिटो छरितो र सरल ढंगले दिने ब्यवस्था मिलाउनुपर्नेछ । सामुहिक जमानीमा दिइने ऋण उपलब्ध गराउने सम्बन्धि जानकारी दिन बैंकहरुले छुट्टै सम्पर्क अधिकृत समेत तोक्नुपर्नेछ ।
सामुहिक जमानीमा दिइने निब्र्याजी ऋण उपलब्ध गराउने कार्यको समन्वय तथा अनुगमन गर्न डेपुटी गभर्नरको संयोजकत्वमा एउटा समिति पनि गठन गरिएको छ ।


