May 4th, 2016

ओरालो गतिमा नेप्से, ७२ करोडको कारोबार

economicबुधबार नेपाल स्टक एक्सचेन्जमा ७२ करोडमाथिको शेयर खरिदविक्रि भएका छन् । दिनभरिमा १ सय २२ वटा कम्पनिको ९ लाख ७० हजार ५ सय ५२ कित्ता शेयर ३ हजार ६ सय ५८ पटक किनबेच हुँदा कुल ७२ करोड ८९ लाख ६२ हजार ३८ रुपैँया बराबरको कारोबार भएको छ । कारोबार रकम मंगलबारको भन्दा कम हो । मंगलबार ९६ करोडभन्दा माथिको शेयर कारोबार भएको थियो । कारोबार रकमसँगै बुधबारको नेप्से परिसूचक पनि ३.८४ अंकले घटेर १४६८.११ अंकमा कायम भएको छ । 

सबैभन्दा बढी कारोबार सम्हालेको एनआईसी एसिया बैँकको ४ करोड ८८ लाख ९६ हजार ६ सय ७९ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल बैँक र इन्भेष्टमेन्ट बैँकको पनि ४ करोडमाथिको शेयर कारोबार भएको छ । एभरेष्ट बैँक, नेपाल बंगलादेश बैँक र सिटिजन्स बैँकको ३ करोडमाथिको कारोबार भएको छ भने छिमेक लघुवित्त विकास बैँक, सानिमा बैँक, शिखर इन्स्योरेन्स, एनएमबी बैँक लगायतको २ करोडमाथिको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

सोमबार र मंगलबारझैँ बुधबार पनि कमाउने कम्पनिहरुको अग्रस्थानमा साझा विकास बैँक रहेको छ । जसका लगानीकर्ताले ९.८८ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । हामा मर्चेन्ट एण्ड फाइनान्सका लगानीकर्ताले पनि ९.६९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । काभ्रे विहार विकास बैँक, मिसन डेभलपमेन्ट बैँक, प्रोफेशनल दियालो विकास बैँक, रिदी हाइड्रोपावर, सूर्य लाइफ इन्स्योरेन्स, नेरुड लघुवित्त विकास बैँक लगायतले पनि कमाएका छन् । 

यता, मिथिला लघुवित्त विकास बैँकका लगानीकर्ताले सबैभन्दा धेरै ६.६ प्रतिशतले गुमाएका छन् । त्यस्तै, अरनिको डेभलपमेन्ट बैँक, बरुण हाइड्रोपावर, राप्तीभेरी विकास बैँक, युनिक फाइनान्स, भर्गव विकास बैँक, फेवा विकास बैँक लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार सम्हालेको एनआईसी बैँकका लगानीकर्ताले १.६२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । 

होटल र फाइनान्स समूअबाहेक बुधबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ८.९५ अंकले घटेको छ । वाणिज्य बैँक, विकास बैँक, अन्य र विमा समूह क्रमशः ५.२४, २.८३, २.३५ र १.९२ अंकले घटेका छन् । होटल र फाइनान्स समूह भने क्रमशः १०.२ र ०.२ अंकले बढेका छन् ।