बैंकिङ खबर । केही समययता विश्वभर प्रचलनमा रहेको डिजिटल मुद्रा बिट्क्वाइनको भाउ निरन्तर बढिरहेको छ । सबैभन्दा महँगो डिजिटल मुद्रा बिट्क्वाइनको भाउ शुक्रबार कीर्तिमानी स्तरमा उक्लिएपछि क्रिप्टोकरेन्सीको कुल बजार पूँजीकरण पनि नयाँ उचाइमा पुगेको छ । उक्त दिनको कारोबारमा बिट्क्वाइनको भाउ पहिलोपटक करीब साढे ७ हजार डलर पुगेको छ । बिट्क्वाइन सटहीकर्ता क्वाइन डेस्कको तथ्याङ्कअनुसार शुक्रवार कोअर्डिनेटेड युनिभर्सल टाइमअनुसार बिहान १०ः३८ बजे प्रतिगोटा बिट्क्वाइनको भाउ ७ हजार ४ सय ५४ डलरको उच्च विन्दुमा उक्लिएको छ ।
उक्त दिन क्वाइन डेस्कमा कारोबार शुरू भएदेखि नै बिट्क्वाइनको मूल्यसूचक उकालो लागेको थियो । शुक्रवारमात्रै बिट्क्वाइनको भाउ ५ दशमलव २९ प्रतिशत बढेको थियो । विगत ७ दिनको कारोबारमा भने यो २७ दशमलव १५ प्रतिशत बढेको तथ्याङ्क छ । पछिल्लो वृद्धिसँगै बिट्क्वाइनको बजार पूँजीकरण १ खर्ब २४ अर्ब डलर पुगेको छ । समग्र क्रिप्टोकरेन्सीको बजार पूँजीकरण भने पहिलोपटक २ खर्ब २ अर्ब डलरमा पुगेको छ ।
विश्वको सबैभन्दा ठूलो डेरिभेटिभ्स एक्सचेञ्ज सञ्चालक सीएमई ग्रूपले बिट्क्वाइन फ्युचर्स लञ्च गर्न थालेको समाचारले बिट्क्वाइनले लगातार चौथो दिन अर्थात् शुक्रवार कीर्तिमानी उचाइ छोएको थियो । सीएमईले बिट्क्वाइनलाई समर्थन गरेपछि थप संस्थागत लगानीकर्ताहरू यसमा आकर्षित हुने र भाउ थप बढ्ने विश्लेषकहरूको अपेक्षा छ । यो वर्ष शुरू भएयता बिट्क्वाइनको भाउ ६ सय ४० प्रतिशत बढिसकेको छ । वर्षको शुरूमा बिट्क्वाइनको भाउ १ हजार डलरनजिक रहेको थियो ।
लगानी पनि बढ्दै
बिटक्वाइन चलनचल्तीमा आउँदा मानिसहरू ०.०९ डलरमा १ बिटक्वाइन किनेको सुनाउँछन् । यही २०१७ मार्च ३१ मा यसको सटही दर १ बिट क्वाइन बराबर एक हजार डलर थियो । कहिलेकाहीं यसको मूल्य घटे पनि तीव्र गतिमा बढिरहेको छ । पछिल्लो गतिमा बढेको दरको आधारमा सन् २०१८ मा १० हजार डलर पुग्ने अनुमान सार्वजनिक गरिएका छन् । त्यसैले विश्वभर बिटक्वाइनमा लगानी तीव्र रूपमा बढिरहेको छ । यद्यपि सट्टे बजारका यस्ता प्रक्षेपण मिल्छन् नै भन्ने हुँदैन । बिटक्वाइनको निकै सानो एकाइ बनाइएको छ । १० करोड सतोषीको एक बिट क्वाइन हुन्छ । अहिले विश्वमा हुने कारोबारमध्ये हप्तामा १ ट्रिलियन डलरबराबर बिटक्वाइनबाट कारोबार हुन्छ । सबै मुद्रा हप्तामा ७० ट्रिलियन डलर कारोबार हुन्छ ।
के हो बिटक्वाइन ?
बिटक्वाइन भर्चुअल (अभौतिक) मुद्रा हो । यसलाई क्रिप्टोकरेन्सी भनिन्छ । भारु, नेरु जस्ता भौतिक मुद्रा देशका सरकारहरूले निर्माण गर्दछन् । तर, बिटक्वाइन विश्वको जोकोही सर्वसाधारणले बनाउन सक्दछन् । यद्यपि, मनखुसी जति पनि सिर्जना गर्न भने सकिँदैन । यसमा नियम लागू हुन्छ ।
यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । बिटक्वाइन आफैंले बनाउन वा बजारबाट डलर, सुन जस्तै किन्न सकिन्छ । नेपालमा नेरु र भारुले मात्र सरसामान किन्न पाइन्छ । तर बिटक्वाइन भने विश्वका अधिकांश मुलुकमा चल्दछ । बिटक्वाइन मोबाइल वा कम्प्युटरमा मात्र राख्न मिल्दछ । आइक्लाउड (इन्टरनेट) बाट एप्लिकेसन डाउनलोड गरी मोबाइल वा कम्प्युटरमा इन्स्टल गरेर त्यसमा बिटक्वाइन राख्नुपर्छ ।
आफ्नो देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनी एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू पनि राखिएका हुन्छन् । त्यहाँ अन्य मुद्रा छिराएर त्यसबराबरको बिटक्वाइन आफ्नो वालेटमा प्राप्त गर्न र आफूसँग भएको बिटक्वाइन अनलाइनबाट तिरेर अन्य मुद्रा झिक्न पनि सकिन्छ । अनलाइनबाट सामान किनेजस्तै विश्वभरबाट बिटक्वाइन किन्न पाइन्छ ।
बिट्क्वाइनको भाउ बढ्नुका कारणहरु
जापान सरकारले हालैमात्र एक विधेयक पारित गरेको छ । यसले बिट्क्वाइनलाई वैधानिक मुद्राको मान्यता दिएको छ । जसकारण येनमा बिट्क्वाइनको कारोबार बढेको छ ।
त्यस्तै, पछिल्लो समय विश्वमा देखा परेका राजनीतिक अनिश्चयले सेफ हेभन मानिने सम्पत्तिको माग बढाएको छ । यस्ता लगानीकर्ताहरूले बिट्क्वाइनलाई पनि सुन जस्तै सुरक्षित लगानीका रूपमा हेर्न थालेका कारण बिट्क्वाइनको माग बढ्न गई मूल्य पनि बढिरहेको छ ।
बिट्क्वाइन प्रयोगकर्ता समुदायमै बिट्क्वाइनको मूल प्रविधि ब्लकचेनको भविष्यका बारेमा मतभेद थियो । यसले दुई छुट्टाछुट्टै क्रिप्टोकरेन्सी सृजना हुने भयसमेत उब्जिएको थियो । तर, पछिल्लो समय यो विवाद साम्य भएपछि बिटक्वाइनको मूल्यवृद्धिका सहयोग पुगेको छ ।




