हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक
नेपाल राष्ट्र बैंकले मंगलबार चालू आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गर्यो । विवरणअनुसार, मूल्यवृद्धिदर र व्यापारघाटा बढेको छ । रेमिट्यान्स आप्रवाहमा पनि न्युन वृद्धि देखिएको छ । सरकारको बजेट १९ अर्बभन्दा बढी बचतमा छ । मुद्राप्रदाय १.८ प्रतिशतले बढेको छ । बैंकिङ निक्षेप र कर्जामा पनि वृद्धि देखिएको छ । पुँजी बजारमा भने ह्रास आएको छ ।
एनएमबि बैंकको घर कर्जा योजना
एनएमबि बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घरकर्जा योजना ल्यायो । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता तथा लामो समय अवधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको छ ।
सिद्धार्थ बैंकका सबै कार्ड इएमभी चिपमा आधारित
सिद्धार्थ बैंक इएमभी चिप पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बन्ये । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)सँगको सहकार्यमा इएमभी चिप संरचनामा स्तरोन्नति गरेको हो । यससँगै अब बैंकको एटिएम र पस मेसिनले पनि कार्डमा रहेको इएमभी चिपलाई नै पढेर कारोबार गर्नेछन् । बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको छ, साथै नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउदै आएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि १०२ एटिएम, एक मोबाइल एटीएम र ५५० भन्दा बढी पस मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई बैंकको भाइबर बैंकिङ सेवा
ग्लोबल आइएमई बैंकले नेपालमै पहिलोपटक भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गर्यो । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकले मोबाइल नम्बर बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिनसक्ने छन् । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्ने बैंकले जनाएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।
सिटी एक्सप्रेसको दशैँ योजनाका विजेताहरुको घोषणा
सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौँ हप्ताको बिजेताहरु घोषणा गर्यो । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शन्ता देवी दाहाल, आशो कुमार राजबन्शी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबी कुमारी देवी मन्डल र मासिनी तामाङ छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट हुनु भएकी छिन् ।
स्मार्ट टेलिकमको फोरजी सेवा
आइतबारदेखि स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गर्यो । पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । अन्य स्थानहरुमा पनि छिटै फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना छ । उपत्यकामा कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्न लागेको स्मार्टले फोरजी सेवा संचालन गर्नका लागि १८०० मेगाहर्ज ब्याण्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी लिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । सन् २००८मा स्थापना भएको स्मार्ट टेलिकमको ग्राहक संख्या १३ लाख पुगेको छ । सन् २०१० देखि जिएसएम मोबाइल सेवा समेत संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।
अन्य,
एनआईसी एशिया बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित जनआन्दोलन चोकमा नयाँ शाखा स्थापना गरी संचालनमा ल्यायो ।
गरिमा विकास बैंक लिमिटेडले कपिलवस्तू जिल्लाको चन्द्रौटा बजार, रुपन्देही जिल्लाको फर्सा्टिकर, खैरेनी र मणीग्राममा गरी एकैपटक चार वटा शाखा कार्यालयको उद्घाटन गर्यो ।
नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक लिमिटेडेले अन्तर बैंक विद्युतिय भुक्तानी प्रणाली सेवा सञ्चालन गर्यो ।
थापनाको १३ बर्ष पुुरा गरि १४औँ वर्षमा प्रवेश गरेको अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अनाथ बालबालिका तथा वृद्धवृद्धाहरुलाई सहयोग गर्यो ।
सिद्धार्थ बैंक लिमिटेड र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट बिच कर्मचारिको दक्षता अभिबृद्धि सम्बन्धि विभिन्न तालिम कार्यक्रम संचालन गर्ने सम्झौता भयो ।
सनराइज बैंक लिमिटेडले बागमती सरसफाई कार्यक्रम सम्पन्न गर्यो ।


