रुपा कोइराला/बैंकिङ खबर । बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । हालसम्म १० वटा बैंकले विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार, केही बैंकहरुको मुनाफा सन्तोषजनक भएपनि केही बैंकले लगानीकर्तालाई निराश बनाएका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको अवस्था हेर्दा, हिमालयन बैंक, मेगा बैंक लगायतले लगानीकर्तालाई निराश बनाएका छन् ।
नविल बैंकको नाफा सबैभन्दा धेरै
पहिलो त्रैमासको वित्तीय विवरणअनुसार, नविल बैंकले सबैभन्दा धेरै ८५ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नविलले ७९ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । विवरणअनुसार, नविल बैंकको चुक्तापुँजी आठ अर्ब चार करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३० दशमलव ९७ गुणा, प्रतिसेयर नेटवर्थ एक हजार आठ सय २५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ५० प्रतिशत रहेको छ भने निष्कृयकर्जा एक दशमलव ११ प्रतिशत रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक पनि प्रतिष्पर्धामा
नविल बैंकसँगको प्रतिष्पर्धामा राष्ट्रिय वाणिज्य बैंक पुगेको छ । बैंकले तीन महिनामा ७० करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव आठ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले ५० करोड आठ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।आठ अर्ब ५८ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकको निष्कृय कर्जा दुई दशमलव ९२ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) १२ दशमलव ०९ प्रतिशत रहेको छ ।
जनता बैंकको नाफा सबैभन्दा कम
हालसम्म वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये, जनता बैंकको मुनाफा सबैभन्दा कम रहेको छ । यद्यपि, बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै भएपनि बढी नाफा कमाएको छ । तीन महिनामा बैंकले छ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा छ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकको आम्दानी तीन दशमलव ७१ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ६९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २७ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ०४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पति १५ दशमलव ९९ प्रतिशत रहेको छ ।
मेगा बैंकको प्रदर्शन दयनीय
नविल बैंकले पहिलो त्रैमासमा नै झन्डै अर्बनजिक नाफा पुर्याउँदा मेगा बैंकको प्रदर्शन भने अत्यन्तै दयनीय देखिएको छ । बैंकले पहिलो त्रैमासमा जम्मा आठ करोड ११ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव ७४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा मेगा बैंकले १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी भएको मेगा बैंकको निष्कृय कर्जा एक दशमलव ६७ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात १० दशमलव २९ प्रतिशत रहेको छ । त्यस्तै बैंकको प्रतिसेयर आम्दानी वार्षिक एक दशमलव ७७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६६ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ १ सय २९ दशमलव ७० रुपैयाँ र तरलता अनुपात २३ दशमलव ९५ प्रतिशत रहेको छ ।
हिमालयन बैंकको नाफामा पनि गिरावट
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ४६ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयनले ४३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । छ अर्ब ४९ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी भएकोबैंकको प्रतिसेयर आम्दानी २५ दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ३५ दशमलव ३५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ८७ दशमलव ६० रुपैयाँ र तरलता अनुपात २० दशमलव ६९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको निष्कृय कर्जा एक दशमलव २४ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पति ११ दशमलव ९८ प्रतिशत रहेको छ ।
अन्य पाँच बैंकको मुनाफा सन्तोषजनक
नविल, राष्ट्रिय वाणिज्य, जनता, मेगा र हिमालयनबाहेक अन्य पाँच वटा बैंकले पनि पहिलो त्रैमासको विवरण सार्वजनिक गरेका छन् । एनएमबि बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, एनआईसी एशिया बैंक लिमिटेड, सिजिन्स बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको प्रदर्शन सन्तोषजनक नै देखिएको छ ।
छ अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी भएको एनएमबि बैंकले गत आर्थिक वर्षको तुलनामा २७ दशमलव ६१ प्रतिशत वृद्धि गरी ४५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, छ अर्ब ७९ करोड रुपैयाँ चुक्तापुँजी भएको प्राइम बैंकको नाफा ३६ दशमलव १२ प्रतिशतले बढेर ३४ करोड १७ लाख रुपैयाँ पुगेको छ । आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको एनआईसी एशिया बैंकको नाफा २७ करोड ८६ लाख रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको तुलनामा छ दशमलव ७५ प्रतिशतले मात्रै बढी हो । यता, सिटिजन्स बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आठ अर्ब दुई करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले मुनाफामा सात दशमलव ५४ प्रतिशत वृद्धि हासिल गरेको हो । सानिमा बैंकले भने मुनाफामा २४ दशलमव ८१ प्रतिशत वृद्धि हासिल गर्दै ३४ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको चुक्तापुँजी आठ अर्ब १२ लाख रुपैयाँ रहेको छ ।




