नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट १ अर्बभन्दा बढी लगानी उठाउने भएको छ । आफ्नो विभिन्न कोषमा रहेको रकम ३ सय ६५ दिने मुद्धतीको रुपमा १ अर्ब ९ करोड रुपैयाँ लगानीको लागि राष्ट्र बैँकले बैंक तथा फाईनान्स कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ ।
रकम लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज उल्लेख गरेर वैशाख ३१ गतेसम्म राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । वि.सं. २०७३ जेठ १ गतेदेखि वि.सं. २०७४ वैशाख ३१ गतेसम्मको लागि उक्त रकम राख्न लागिएको हो । लगानीयोग्य रकममध्ये ८७ करोड ७६ लाख ८ हजार रुपैयाँ वाणिज्य बैंकको लागि, १६ करोड ४५ लाख ५१ हजार रुपैयाँ विकास बैंकको लागि तथा बाँकी ५ करोड ४८ लाख ५० हजार रुपैयाँ फाईनान्स कम्पनीहरुको लागि छुट्टाइएको छ । राष्ट्र बैँकका अनुसार, लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा एन. पी. ए कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढि भएको हुनुपर्ने छ ।
कर्जा तथा स्वदेशी निक्षेप र प्राथमीक पुँजी अनुपात बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्थापछिको)मा रहेको, रियलस्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढि नभएको लगानी गरिने संस्थाको कुनैपनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने लगायतका प्रावधान रहेको छ ।