Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हकप्रद निष्काशनमा बैंकवित्तले पालना गर्नुपर्ने नीतिहरु

२०७४ कार्तिक १३ गते

बैंकिङ खबर । आठ वटा कम्पनीले नीति विपरीत समयमा नै हकप्रद सेयर निष्काशन नगरेको पाइएको छ । कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स र सेती फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनको घोषणा गरेको लामो समय भइसक्दा पनि प्रक्रिया अघि नबढाएपछि नेपाल धितोपत्र बोर्डले छानबिन नै थालेको छ । 

के छ नीतिगत व्यवस्था ?
नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ अनुसार, हकप्रद सेयर निष्कासनका लागि पूरा हुनुपर्ने अवस्थामा सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरेको २ महीनाभित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । यस्तै सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद सेयरको निष्कासन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि रहेको छ । 

घोषणा गरिएका हकप्रद
कुमारी बैङ्कले २०७३ चैत ९ गतेको १६औं वार्षिक साधारणसभाबाट काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्कलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापूँजीको रू. १ अर्ब १९ करोड ३८ लाख ९९ हजारबराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । त्यस्तै देवः विकास बैङ्कले गत असार २९ गतेको विशेष साधारणसभामार्फत ४० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो । यस्तै पोखरा फाइनान्सले २०७३ कात्तिक ९ गतेको २०औं वार्षिक साधारणसभामार्फत एफपीओ जारीपछि कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव १५ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सिनर्जी फाइनान्सले पूँजीवृद्धिका लागि भन्दै २०७३ मङ्सिर ५ गतेको विशेष साधारणसभामार्फत १ बराबर शून्य दशमलव २५ प्रतिशत र नागबेली लघुवित्त विकास बैङ्कले २०७३ पुस २९ गतेको ७औं वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । सेती फाइनान्सले २०७२ चैत २० गते १ बराबर १ दशमलव ५ प्रतिशत र साझा विकास बैङ्कले २०७३ असार ३१ गतेको तेस्रो साधारणसभामार्फत ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेका थिए । जेविल्स फाइनान्सले असार २३ गतेको विशेष साधारणसभाबाट १ बराबर १ को अनुपातमा हकप्रद जारी गरेपछि कायम हुने चुक्तापूँजीको पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।