२०७४ कार्तिक १३ गते

हकप्रद निष्काशनमा ढिलाई गर्ने बैंकवित्तमाथि कस्तो छ कारबाही प्रक्रिया ?

बैंकिङ खबर । हकप्रद सेयर निष्काशनको घोषणा गरेर पनि आठ वटा कम्पनीले हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएका छैनन् । कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स र सेती फाइनान्स कम्पनीले हकप्रद सेयर निष्काशनको घोषणा गरेको लामो समय भइसक्दा पनि प्रक्रिया अघि नबढाएपछि नेपाल धितोपत्र बोर्डले छानबिन नै थालेको छ । बोर्डले हकप्रद सेयर निष्कासनको घोषणा गरी लामो समयसम्म निष्काशन प्रक्रिया अघि नबढाउने आठ कम्पनीमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छानबिन शुरू गरेको छ । निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी पहिलो चरणको अनुसन्धान सुरु गरेको हो । 

के हुन्छ कारबाही ?
धितोपत्र बोर्डद्धारा गठित समितिले यी कम्पनीहरुले हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि नबढाउनुको कारणबारे छानविन गर्नेछ । यस क्रममा घोषणा गरिसकेको हकप्रद छिटो निष्काशन गर्न जोड दिने बोर्डको योजना छ । अनुसन्धान गर्दा हकप्रद निष्काशनमा ढिलाई हुनुको पछाडि संचालकको दोष देखिएमा जरिवानासहित कारबाही गरिने बोर्डले जनाएको छ । दोषीलाई दुई लाखसम्म जरीवानासहित कारबाही हुन सक्ने बताइएको छ । 

कुन कम्पनीको हकप्रद कति ?
कुमारी बैङ्कले २०७३ चैत ९ गतेको १६औं वार्षिक साधारणसभाबाट काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्कलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापूँजीको रू. १ अर्ब १९ करोड ३८ लाख ९९ हजारबराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । त्यस्तै देवः विकास बैङ्कले गत असार २९ गतेको विशेष साधारणसभामार्फत ४० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो । यस्तै पोखरा फाइनान्सले २०७३ कात्तिक ९ गतेको २०औं वार्षिक साधारणसभामार्फत एफपीओ जारीपछि कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव १५ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सिनर्जी फाइनान्सले पूँजीवृद्धिका लागि भन्दै २०७३ मङ्सिर ५ गतेको विशेष साधारणसभामार्फत १ बराबर शून्य दशमलव २५ प्रतिशत र नागबेली लघुवित्त विकास बैङ्कले २०७३ पुस २९ गतेको ७औं वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । सेती फाइनान्सले २०७२ चैत २० गते १ बराबर १ दशमलव ५ प्रतिशत र साझा विकास बैङ्कले २०७३ असार ३१ गतेको तेस्रो साधारणसभामार्फत ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेका थिए । जेविल्स फाइनान्सले असार २३ गतेको विशेष साधारणसभाबाट १ बराबर १ को अनुपातमा हकप्रद जारी गरेपछि कायम हुने चुक्तापूँजीको पुनः ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।