Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

हकप्रद निष्कासनमा ढिलाइ गर्नेमाथि सेबोनको कडार्इ, छानबिन शुरू

२०७४ कार्तिक १३ गते

हकप्रद शेयर निष्कासनको घोषणा गरी लामो समयसम्म निष्कासन–प्रक्रिया अघि नबढाउने आठ कम्पनीमाथि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले छानबिन शुरू गरेको छ । बोर्डले कुमारी बैङ्क, देवः विकास बैङ्क, साझा विकास बैङ्क, नागबेली लघुवित्त विकास बैङ्क, सिनर्जी फाइनान्स, पोखरा फाइनान्स, जेविल्स फाइनान्स र सेती फाइनान्स कम्पनीमाथि अनुसन्धान शुरू गरेको हो । बोर्डले प्रारम्भिक चरणको अनुसन्धानका लागि निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी छानबिन थालिसकेको छ ।

समितिका संयोजक श्रेष्ठले आठ कम्पनीमाथि हकप्रद निष्कासन नगर्नुको कारणसहित छानबिन प्रक्रिया शुरू भइसकेको र केही समयमै प्रारम्भिक प्रतिवेदन तयार हुने बताए । उनले भने, ‘छानबिनका क्रममा निर्णय गरेको हकप्रद निष्कासन गर्न नै जोड दिइनेछ । तर, सञ्चालक दोषी पाइएमा जरीवानासहित कारबाही गरिनेछ ।’ उनका अनुसार दोषीलाई रू. २ लाखसम्म जरीवानासहित कारबाही हुन सक्नेछ ।

बोर्डले जारी गरेको धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को हकप्रद शेयर निष्कासनका लागि पूरा हुनुपर्ने अवस्थामा सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद शेयरको निष्कासन गर्ने निर्णय गरेको २ महीनाभित्र बोर्डमा निवेदन दिनुपर्ने व्यवस्था छ । यस्तै सङ्गठित संस्थाले साधारणसभाबाट हकप्रद शेयरको निष्कासन गर्ने निर्णय गरेमा सो निर्णय अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने व्यवस्था पनि रहेको छ । सोही व्यवस्थाअनुसार कम्पनीहरूले निर्णय गरिसकेको हकप्रद शेयर निष्कासनमा ढिलाइ गरेकाले बोर्डले छानबिन थालेको हो । लगानीकर्ताहरूबाट निर्णय भए पनि हकप्रद निष्कासन नगरेको गुनासो आएपछि छानबिन प्रक्रिया अघि बढाइएको बोर्डले बताएको छ ।

बोर्डका अनुसार कुमारी बैङ्कले २०७३ चैत ९ गतेको १६औं वार्षिक साधारणसभाबाट काष्ठमण्डप डेभलपमेण्ट बैङ्क, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैङ्क र काँक्रेविहार विकास बैङ्कलाई प्राप्ति गरेपछि कायम हुने चुक्तापूँजीको रू. १ अर्ब १९ करोड ३८ लाख ९९ हजारबराबरको हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । त्यस्तै देवः विकास बैङ्कले गत असार २९ गतेको विशेष साधारणसभामार्फत ४० प्रतिशत हकप्रद शेयर दिने निर्णय गरेको थियो । यस्तै पोखरा फाइनान्सले २०७३ कात्तिक ९ गतेको २०औं वार्षिक साधारणसभामार्फत एफपीओ जारीपछि कायम हुने चुक्तापूँजीको १ बराबर शून्य दशमलव १५ प्रतिशतका दरले हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सिनर्जी फाइनान्सले पूँजीवृद्धिका लागि भन्दै २०७३ मङ्सिर ५ गतेको विशेष साधारणसभामार्फत १ बराबर शून्य दशमलव २५ प्रतिशत र नागबेली लघुवित्त विकास बैङ्कले २०७३ पुस २९ गतेको ७औं वार्षिक साधारणसभाले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको थियो । सेती फाइनान्सले २०७२ चैत २० गते १ बराबर १ दशमलव ५ प्रतिशत र साझा विकास बैङ्कले २०७३ असार ३१ गतेको तेस्रो साधारणसभामार्फत ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेका थिए ।

जेविल्स फाइनान्सले असार २३ गतेको विशेष साधारणसभाबाट १ बराबर १ को अनुपातमा हकप्रद जारी गरेपछि कायम हुने चुक्तापूँजीको पुनः ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो । हाल जेविल्सले १ बराबर १ को अनुपातमा हकप्रद निष्कासन गरिरहेको छ । असोज १ देखि कात्तिक ५ गतेसम्म निष्कासन गरेको हकप्रदमा १५ दिन म्याद थप गरी कात्तिक २० गतेसम्म कायम गरेको छ ।

जेविल्सका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मीले निर्णय भएका दुवै हकप्रद निष्कासन गर्नमा ढिलाइ नगर्ने बताए । १ बराबर १ को अनुपातमा हकप्रद जारीपछि कायम चुक्तापूँजीको ४० प्रतिशत पुनः निष्कासन गर्ने निर्णयअनुरूप हाल निष्कासनका क्रममा रहेको हकप्रदबाट पूँजी चुक्ता भइसकेपश्चात् ४० प्रतिशत हकप्रद निष्कासनको प्रक्रिया अघि बढाउने जानकारी दिए । अभियान दैनिकमा प्रकाशित समाचार