May 3rd, 2016

मंगलबारको नेप्से : कारोबार रकम बढ्दा सामान्य ओर्लियो परिसूचक

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा ९६ करोडमाथिको शेयर कारोबार भएको छ । दिनभरिमा १ सय ३३ वटा कम्पनिको २३ लाख २६ हजार ५३ कित्ता शेयर ४ हजार ९१ पटक खरिदविक्रि हुँदा ९६ करोड ८२ लाख ७७ हजार ८ सय ६० रुपैँयाको कारोबार भएको छ । कारोबार रकम सोमबारको तुलनामा २० करोड बढी हो । सोमबार ७६ करोडको कारोबार भएको थियो । कारोबार रकम बढेपनि मंगलबार नेप्से परिसूचक भने २.५२ अंकले घटेर १४७१.९५ अंकमा कायम भएको छ । 

एभरेष्ट बैँकको सबैभन्दा धेरै ७ करोड ९३ लाख ७३ हजार ८ सय ९३ रुपैँयाको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैँक, नेपाल बैँक र एनएमबी बैँकको ४ करोडमाथिको कारोबार भएको छ भने एसबीआई बैँक, छिमेक लघुवित्त विकास बैँक, नेपाल बंगलादेश बैँक, प्राइम कमर्सियल बैँक, स्टान्डर्ड चार्टर्ड बैँक, लाइफ इन्स्योरेन्स कम्पनि लगायतको ३ करोडमाथिको कारोबार भएको छ । 

कमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको साझा विकास बैँकका लगानीकर्ताले ९.९ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । अरनिको डेभलपमेन्ट बैँक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनि, सिनर्जी फाइनान्स, यति डेभलपमेन्ट बैँक, हामा मर्चेन्ट एण्ड फाइनान्स लगायतले पनि कमाएका छन्  । गुमाउने कम्पनिहरुको अग्रस्थानमा रहेको मिथिला लघुवित्त विकास बैँकका लगानीकर्ताले ५.८ प्रतिशतले गुमाएका छन् । प्रोफेसनल दियालो विकास बैँक, नयाँ नेपाल लघुवित्त, सहयोगी विकास बैँक लगायतले पनि गुमाएका छन् । सबैभन्दा धेरै कारोबार सम्हालेको एभरेष्ट बैँकका लगानीकर्ताले ०.५४ प्रतिशतका दरले कमाएका छन् । 

होटल, जलविद्युत् र उत्पादनमूलकबाहेक मंगलबार कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बिमा समूह ६०.५६ अंकले घटेको छ भने विकास बैँक, अन्य, वाणिज्य बैँक र फाइनान्स समूह क्रमशः ७.२३, १.१८, ०.८६ र ०.१६ अंकले घटेका छन् । त्यस्तै, उत्पादनमूलक समूह ३३.७३ अंकले बढ्दा होटल र जलविद्युत् क्रमशः १६.२६ र २.९४ अंकले बढेका छन् ।