Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राप्तीभेरी विकास बैंकलाई गाभेर ज्योति विकास बैंकले सुरु गर्यो एकीकृत कारोबार

२०७४ कार्तिक ९ गते

ज्योति विकास बैंक लिमिटेडले क्षेत्रिय स्तरको राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीबि नेपालले संयुक्त कारोबार सञ्चालन शुभारम्भ  समारोहको उद्घाटन गरे ।

ज्योति विकास बैंक लिमिटेड नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नितीलाई अंगीकार गर्दै हालसम्म झिमरुक विकास बैंक लिमिटेड र राप्तीभेरी विकास बैंक लिमिटेड गरी २ वटा क्षेत्रिय स्तरको विकास बैंकहरुलाई सफलतापूर्वक मर्जर र प्राप्ति गरेको छ । यस  प्राप्ति पश्चात् ज्योति विकास बैंक लिमिटेडेको चुक्ता पूँजी दुई अर्ब ३६ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप१२ अर्ब ४० करोड रुपैयाँ, कर्जा लगानी १० अर्ब ३० करोड रुपैयाँ, शाखा संख्या ४६ तथा ग्राहक संख्या एक लाख ४० हजार भन्दा बढि पुगेको छ ।

राष्ट्र बैंकको निर्देशनअनुसार ज्योति विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ । यस प्राप्तिपछि पनि नपुगेको २० करोड रुपैयाँ पुँजी आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट बोनस सेयर वितरण गरेर पुर्याउने बैंकको योजना छ । 

बैंकले देशव्यापी रुपमा शाखा सञ्जाल विस्तार गर्ने लक्ष्यका साथ १० वटा शाखा छिट्टै थप्न लागेको बताइएको छ । त्यसपछि पनि शाखा विस्तारको क्रमलाई जारी राख्ने बैंकको योजना छ । 

वि. स. २०६५ श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक लिमिटेडले स्थापनाको नौ बर्षको अवधिमा निजी क्षेत्रका विकास बैंकहरुको बिचमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ । ज्योति विकास बैंक लिमिटेडले राप्तीभेरी विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा समेत आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।