नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७३–७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साधारणसभामा संस्थापक सेयरधनीहरुको तर्फबाट चार जना संचालकहरुकोे निर्वाचन समेत गरिएको छ । कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडेलाई संचालकमा निविरोध निर्वाचित गरेको बैंक्ले जनाएको छ ।
यसबाहेक, साधारणसभाले २०७३–७४ सम्मको संचित मुनाफाबाट २०७४ आषाढ मसान्तमा कायम सेयर पूँजीको १५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभाश दिने प्रस्ताव पनि पारित गरेको छ । एक अर्ब ३८ करोड रुपैयाँ बराबरको उक्त बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
उत्कृष्ट वित्तीय अवस्था
त्यस्तै, बैंकको सञ्चिति रकम पनि बढेर आठ अर्ब आठ करोड रुपैयाँ र सेयरधनी कोष रकम १८ अर्ब ७० करोड रुपैयाँ पुगेको जानकारी साधारणसभामा दिइयो । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरधनी कोष र चुक्तापुँजी अन्य निजी बैंकहरुको तुलनामा सबैभन्दा बढी हो ।
गत आर्थिक वर्षको तथ्यांकअनुसार, नेपाल इन्भेष्टमेन्ट बैंकले पाँच अर्ब २४ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ भने खुद मुनाफा तीन अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले एक खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब छ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेको छ । बैंकको खराब कर्जा ०.८३ प्रतिशत रहेको छ । छिटै नै यो अनुपातलाई शून्यमा झार्ने बैंकको लक्ष्य रहेको छ ।
शाखा सञ्जाल विस्तार
बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तीको नितिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ । एस प्राप्तीपश्चात् बैंकको काठमाडौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको छ ।
नयाँ सुविधाहरु
यस वर्षदेखि बैंकले ग्राहकवर्गको सुविधा हेतु नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन कार्यको लागि सम्झौता गरी मासिक विद्युत महसुल बैंकबाटै भुक्तानी गर्न सबै शाखा तथा इ–बैंकिङमार्फत सेवा सुरुवात गरेको छ । साथै बैंकले सर्वसाधारणलाई सरकारी राजश्व संकलनमा सुलभता होस भन्ने उद्देश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजश्व संकलन केन्द्र खोली नयाँ सुविधाको थालनी गरेको छ । यस वर्षदेखि बैंकले एटिएम र पस मेसिन दुबैमा प्रयोग गर्न आफ्नो कार्ड संजालमा मास्टर कार्डको सेवा संचालनमा ल्याएको छ । साथै आफ्ना चार लाखभन्दा बढी कार्ड प्रयोगकर्ताका डाटालाई अझ सुरक्षित बनाउन बैंकले विश्व विख्यात डाटा सुरक्षा मापदण्ड PCI DSS ( PAYMENT CARD INDUSTRY DATA SECURITY STANDARD) सेवाको ३.२ संस्करण प्रमाणिकरण प्राप्त गरेको छ ।
भावी योजना
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने, समयानुकुल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ूदि बंैकरू, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इयर उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि २०६७÷०६८ देखि लगातार हासिल गर्दै आइरहेको छ ।




