२०७४ कार्तिक ७ गते

घलेम्दी र माउन्टेन हाइड्रोले आईपिओ जारी गर्ने, पाइपलाइनमा अन्य १९ कम्पनी पनि

बैंकिङ खबर / घलेम्दी हाइड्रोपावर कम्पनी र माउन्टेन हाइड्रो नेपालले साधारण सेयर निष्काशन गर्ने भएका छन् । स्थानीयवासीका लागि सेयर निष्काशन गर्ने अनुमति माग गर्दै दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

घलेम्दी हाइड्रोपावरले स्थानीय जनताका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीयबासीलाई सेयर बिक्री गरीसकेपछि सर्वसाधारणको लागि करिब ११ करोड रुपैयाँको सेयर जारी गर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा भिवोर क्यापिटल रहेको छ । घलेम्दी हाइड्रो लिमिटेडले म्याग्दीको नारच्याङ–१ मा ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजना निमार्ण गरिरहेको छ ।

यता, माउन्टेन हाइड्रोले पनि स्थानीय बासिन्दाको लागि १२ करोड ५० लाख रुपैयाँको बराबरको १२ लाख ५० हजार कित्ता सेयर जारी गर्ने भएको छ । स्थानीयको लागि १० प्रतिशत सेयर जारी गर्न लागेको कम्पनीले सर्वसाधारणको लागि २५ करोड रुपैयाँको सेयर जारी गर्नेछ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले २१.६ मेगावाटको तल्लो हेवा खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । पाँचथरको फिदिम गाविसमा रहेको यो आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयोग हुने छ । २०७१ मा कम्पनी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भइसकेको छ ।

पाइपलाइनमा थप १९ कम्पनी
यी दुई कम्पनीबाहेक, आईपिओ निष्काशनका लागि १९ वटा कम्पनी पाइपलाइनमा छन् । पाइपलाइनमा रहेका २१ कम्पनीमध्ये, दुई वटा कम्पनीले एफपिओ जारी गर्ने अनुमति मागेका छन् । समग्रमा यतिबेला पाँच करोड २८ लाख २५ हजार ४९ कित्ता साधारण सेयर पाइपलाइनमा छन् ।