Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

फाइनान्सको संख्या एक दर्जनमा खुम्चिने संकेत

२०७४ कार्तिक २ गते

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्स कम्पनीहरु पनि चुक्ता पुँजी वृद्धिको कसरतमा छन् । खासगरी नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सबैले चुक्ता पुँजी ४ गुणा बढाउनुपर्ने व्यवस्था गरेको थियो । यसमा अधिकांश वाणिज्य बैंकहरु आठ अर्ब चुक्ता पुँजी नजिक देखिएका छन् भने विकास बैंकहरु पनि चुक्ता पुँजी पुर्याउने दौडधूपमै छन् । 
विकास बैंकका साथै वित्त कम्पनीहरुलाई पनि चुक्ता पुँजी पुर्याउनुपर्ने दबाब छ । राष्ट्रियस्तरका र एकदेखि १० जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ८० करोड रुपैयाँ र एकदेखि तीन जिल्ला कार्यक्षेत्र भएका फाइनान्स कम्पनीहरुले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । 

वित्त कम्पनीका लागि प्रतिष्पर्धी बजार 
वित्तीय बजार खासगरी फाइनान्स कम्पनीका लागि निकै प्रतिष्पर्धी बनेको छ । किनभने अहिले फाइनान्स कम्पनीहरुको काम बैंकहरुले पनि गर्न थालेका छन् । त्यसैले मध्यम वा कमजोर अवस्थामा रहेका वित्त कम्पनी अब बजारमा टेका लगाएको भरमा टिक्न सक्ने स्थिति छैन । फेरी नेपाल राष्ट्र बैंकले गरेको पुँजी वृद्धि व्यवस्थामा फाइनान्स कम्पनीहरुलाई ख वर्गका विकास बैंककै हैसियतमा राखेको छ । 
पुँजी वृद्धिको सकसमा रहेका वित्त कम्पनीहरुमा पनि पछिल्लो समय मर्जरको लहर नै चलेको छ । कतिपय फाइनान्स कम्पनीहरु एकअर्कासँग मर्जर गरी चुक्ता पुँजी पुर्याउने प्रयासमा छन् । चुक्ता पुँजी पुर्याउन नसक्ने फाइनान्सहरु ठूला बैंकमा एक्वाएर भईरहेका छन् । 

एकदर्जनमा खुम्चिने संकेत 
तीन वर्षअघिसम्म मुलुकमा ८८ वटा फाइनान्स कम्पनी थिए । तर अहिले ती फाइनान्स घटेर २७ वटामा झरेका छन् । यीमध्ये अझै केही मर्जर वा एक्विजिसनमा जाने क्रममा छन् भने कतिपय राष्ट्र बैंकले समस्याग्रस्त सूचीमा राखेका कम्पनीहरु पनि छन् । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार हाल कायम २७ वित्त कम्पनीमध्ये अझै केही घट्ने छन् । यीमध्ये एक दर्जनको संख्यामा वित्त कम्पनी आउने अपेक्षा गरिएको छ ।